
दमौली: पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार गर्दा घाँसीकुवामा रहेको भानु–घाँसी स्मारक पार्क हटे पछि गण्डकी प्रज्ञा-प्रतिष्ठानले एक विज्ञप्ति मार्फत भानुपार्क र शालिकको पुननिर्माणको माग गरेको छ। सडक विस्तार गर्दा भानु–घाँसी स्मारक पार्क हटाउनु पर्ने अवस्था आएको हुँदा संरक्षणका लागि बेलैमा चासो राख्नुपर्ने माग स्थानीयले राख्दै आएका थिए।
विज्ञप्तिमा भनिएको छ “नेपाली साहित्यको प्राथमिक कालका महान् कवि भानुभक्त आचार्य जसले नेपाली भाषालाई सरल, सहज, सरस र शुद्ध तुल्याई भाषालाई समृद्ध बनाई भाषाका माध्यमबाट नेपालको एकीकरणमा बल पुऱ्याएकाले उनलाई नेपालको राष्ट्रिय विभूति मानिन्छ। पृथ्वी राजमार्गको छेउ घांसीकुवामा धेरै समय अघि निर्मित भएको अर्धकदको सालिक र भानुपार्कले गर्दा त्यो ठाउँ घांसीकुवा र साहित्यिक पार्कका नामले विकसित भई चम्किरहेको थियो। तर अहिले सडक फराकिलो बनाउने क्रममा विगत केही समयदेखि त्यो पार्क भत्काइएको र सालिक हटाएको हुनाले अन्धकार बन्न पुगेको उल्लेख छ ।
साहित्यमा रामायण, शिक्षा, भक्तमाला प्रश्नोत्तरी साथै रामगीता जस्ता पुस्तकहरुका साथै अन्य फुटकर कविता लेखी तत्कालिन समयमा नेपाली जनतामा देशभक्ति, मौलिकता र सुधारवादी चेतना छर्ने आदिकवि भानुभक्त आचार्यको नाउँमा निर्माण गरिएको सालिक र भानुपार्क यथाशीघ्र पुननिर्माणका साथै भानुभक्तको सालिकलाई प्रतिस्थापना गरियोस् भनी सम्बन्धित निकाय संग जोडदार माग गरेका छ्न्।