
व्यासका १ सय २९ को रिपोर्ट आउन बाँकी
दमौलीः शनिबार तनहुँमा केही दिनयताकै कम संख्यामा कोरोना संक्रमित भेटिए । दैनिक ठूलो संख्यामा संक्रमण देखिइरहेका बेला शुक्रबार केही कम र शनिबार झनै गिरावट आएर तीन जनामा संक्रमितको संख्या सीमित भएको हो ।
तनहुँमा शनिबार तीन जनामा कोरोना संक्रमण भेटियो । म्याग्दे र बन्दीपुर गाउँपालिकासँगै शुक्लागण्डकी नगरपालिकाका एक एक गरी तीन जनामा मात्र शनिबार संक्रमण देखियो ।
तर अझै ठूलो संख्याको रिपोर्ट आउन भने बाँकी नै देखिन्छ । स्वास्थ्य कार्यालय तनहुँले उपलब्ध गराएको तथ्यांकका आधारमा जिल्लामा अझै दुई सय २८ पीसीआर परीक्षणको नतिजा आउन बाँकी छ ।
त्यसमध्ये व्यासका मात्र एक सय २८ जनाको नतिजा आउन बाँकी छ । व्यास नगरपालिकाको दमौली अस्पतालबाट संकलित २९ तथा २८ र ३० गते कन्ट्याक्ट ट्रेसिङ गरिएका ९२ जनाको नतिजा नै आउन बाँकी रहेकाले ढुक्क हुने अवस्था भने छैन ।
यदि यसको नतिजा आउँदा पनि संक्रमण कम आएमा भने जिल्लामा संक्रमण केही कम भएको देखिनेछ । किनभने पछिल्ला दिनमा नयाँ पीसीआर नमूना लिने काममा गिरावट आएको बताइन्छ । यस आधारमा अबको दुई दिनमा आउने नतिजाले जिल्लामा कोरोना संक्रमणको वास्तविक अवस्था दर्शाउने जानकार बताउँछन् ।