
दमौली : तनहुँमा आज एक महिलाको हत्या भएको छ । व्यास नगरपालिका वडा नं ९ कुमाल गाउँकी ६६ वर्षीया बिष्णुमाया कुमालको हत्या भएको प्रहरीले जनाएको छ ।
विष्णुमायाको हत्या आरोपमा व्यास नगरपालिका वडा नं ९ का ३० वर्षीय शिव शंकर भनिने शंकर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको छ ।
शंकरलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले आजै पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी राजु अधिकारीका अनुसार आज बिहान करिब ७ः३० बजे विष्णुमाया आफ्नै घरमा मृत भेटिएकी थिइन् । उनको टाउकोमा गहिरो चोट लागेको थियो । उनीमाथि बञ्चरो प्रहार भएको प्रहरीले जनाइको छ ।
पक्राउ परेका शंकरविरुद्ध तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।