
दुलेगौँडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले आफ्नै बजेटमा पुल निर्माण गरेर नागरिकको बर्षाै देखिको प्रतिक्षा र दबाबलाई पुरा गरिदिएको छ । नगरपालिकाको कटहरे स्थित बाङ्गेखोलामा पुल बनेपछि यस क्षेत्रका नागरिकको बर्षाै देखिको सपना पुरा भएको हो ।
बर्षेनी बढेर आउने बाङ्गे खोलाकै कारण खोला तरेर विद्यालय जान नपाएका विद्यार्थी र विरामी हुदाँसमेत जोखिम मोलेर खोला तर्नुपर्ने समस्या पुल बनेसँगै सधैका लागि समाधान भएको छ । शुक्लागण्डकी नगरपालिका वडा न ८ र १० लाई जोड्ने गरि नगरपालिकाले खोलामा पुल निर्माण गरिदिएपछि स्थानीयमा खुशीको सिमाना छैन ।
‘अव हाम्रो बच्चाहरु खोला बढ्दा पनि स्कुल जान पाउने भए’, स्थानीय दिप नेपालीले भन्नुभयो ‘विरामी हुदाँ चाँडै अस्पताल जान पाइने भयो ।’ नेपालीले वडा र नगरपालिकाका प्रतिनिधीलाई पुलकै अभावमा आफुहरुले भोगेको समस्या बारम्बार जानकारी गराएपछि समाधान भएको जानकारी दिए।
पुल निर्माणपछि शुक्लागण्डकी १० को कुखुरे, कटहरे, लहरे, पातिस्वाँरा, सिम्ले र मिनामखानीका सयौँ जनताले सहज सुविधा प्राप्त गर्ने वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले जानकारी दिनुभयो । वडाध्यक्ष भट्टराईले वडाको सवैभन्दा महत्वपूर्ण योजना पुरा भएको बताउनुभयो ।
नागरिकको समस्यालाई सम्बोधन गर्न तदारुकता देखाएको नगरपालिकाले छोटो समयमा नै पुल निर्माण गरिदिएको भन्दै स्थानीय हिमा भुजेलले खुशी ब्यक्त गरे।
उनले पुल शिलान्यास भएको दुई महिना नवित्दै निर्माण भएको जानकारी दिदै बर्षाैदेखिको माग पुरा भएको बताए । बाङ्गे खोलामा निर्माण भएको पुलको निरिक्षण गर्न पुग्नुभएकाले शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले नागरिकको चाहाना र आवश्यकताको आधारमा नगरमा पूर्वाधार विकास गरिएको बताए ।
निर्वाचनको बेलामा जनतासँग गरेको प्रतिवद्धताहरुलाई क्रमैसँग पुरा गर्ने अभियानमा रहेको दावि गर्दै मेयर पण्डितले विकासको मुलप्रवाहबाट पछि परेको नगरबासीको आवश्यकतालाई प्राथमिकता दिएर काम गर्ने लक्ष्य राखिएको समेत बताए । झण्डै २० मिटर लम्वाईको पुल नगरपालिकाको २५ लाख बजेटमा लिभिक कन्ट्रक्सनले निर्माण गरेको शुक्लागण्डकी नगरपालिकाले जनाएको छ ।