ऋषिङ अध्यक्ष राजेन्द्रकृष्ण जोडिएको भीमाद कुटपिट प्रकरणः के हो वास्तविकता ?

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः केही दिनअघि सञ्चारमाध्यममा ऋषिङ गाउँपालिका अध्यक्ष एवं कांग्रेस उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठले जग्गा विवादमा स्थानीय प्रभात आलेलाई कुटेका विवरणहरु आए ।


प्रदेश सभासद एवं पार्टी सभापति जीतप्रकाश आलेका भाइसमेत रहेका आले र श्रेष्ठबीच भएको भनिएको घटना गत फागुन ७ गते राती भएको बताइन्छ । आलेले आफूमाथि पाइपले प्रहार गरेको आलेको भनाइ बाहिर आएको छ ।

घटना भएको एक साता पछि मात्र विवरण सार्वजनिक भएको छ । आलेले जग्गा विवादमा कुरा गर्दा आफूमाथि श्रेष्ठले कुटपिट गरेको बताएका छन् ।


तर, घटनामा एकपक्षीय खबर आएको भन्दै श्रेष्ठ अध्यक्ष रहेको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले भने सामाजिक सञ्जालमा आपत्ती जनाएका छन् । उनका अनुसार जग्गा विवादमा कुरा गर्न भनेर अध्यक्ष श्रेष्ठको घरमा राती आएका आलेले हातपात प्रयास गर्दा अध्यक्ष श्रेष्ठकी पत्नी सुशीलाको हातमा चोट लागे पछि मात्र प्रतिवाद गरेका हुन् ।


आक्रमणको प्रतिवाद गर्ने क्रममा घटना घटेको र मादक पदार्थ सेवन गर्दा आले लडेको प्रवक्ता दरैले लेखेका छन् । आलेबाट पहिलो गल्ती भए पनि विवाद आपसमा मिलाउने सहमति भएकामा अहिले एकपक्षीय आरोप लगाएर घटना विवरण बाहिर आएको आरोप उनले लगाएका छन् ।
यसबारेमा प्रतिक्रिया लिन खोज्दा अध्यक्ष श्रेष्ठले घटनाका बारेमा पालिकाको आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्