
बन्दीपुरः स्टिमेटभन्दा बढी बिल पास नगरेको भन्दै वडा सचिव कुट्ने बन्दीपुर ६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई प्रहरीले पक्रेको छ ।
वडाध्यक्षले कुटे पछि घाइते वडा सचिव नवीन भुषालको अहिले भरतपुरमा उपचार भैरहेको छ ।
वडाध्यक्ष गुरुङले स्थानीयस्तरमा आयोजित भलिबल प्रतियोगितामा वडाले तोकेभन्दा बढीको बिल पास नगरे पछि कुटपिट गर्दा घाँटी र अनुहारमासमेत चोट लागेका सचिव भुषाललाई बन्दीपुर अस्पतालमा उपचारपछि भरतपुर रिफर गरिएको थियो ।
घटनापछि एमालेबाट निर्वाचित वडाध्यक्ष गुरुङलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले घटनाबारे अनुसन्धान भैरहेको बताए ।
नेपाल निजामति कर्मचारी युनियन केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ । विज्ञप्तिमा अवाञ्छित काम गरेको भन्दै वडाध्यक्षमाथि हदैसम्मको कारबाहीको माग गरिएको छ ।