घटस्थापना गरिएसँगै दशैंको औपचारिक शुरुवात

  • ख-
  • ख+

काठमाडौंः यस वर्षको दशैं शनिबारदेखि सुरु भएको छ। दशैंको पहिलो दिन शनिबार घरघरमा घटस्थापना गरिएको छ ।

बिहान ११ बजेर ४६ मिनेटको साईतमा घर तथा शक्तीपीठहरुमा घटस्थापना गरिएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

नवरात्रको पहिलो दिन शनिबार बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा जौँ रोपिन्छ।

जौँको पहेँलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका प्रसादसित ग्रहण गरिन्छ। पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ।

परम्परानुसार जमरा राख्दा जौसँगै अन्य अन्न पनि रोप्ने गरिन्छ। जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

शनिबार दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको उनले बताए। सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ।

घटस्थापनाको दिनदेखि नवरात्र सुरु हुन्छ। नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा गरिन्छ। महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा मान्ने परम्परा छ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ।

दुर्गाका यी नौ रुपलाई नवदुर्गा भनिन्छ। यस वर्षको देवी विसर्जनको साइत कात्तिक १० गते बिहान १०ः बजेर ११ मिनेटमा तथा टीका प्रसाद ग्रहणको साइत १० बजेर १९ मिनेट रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्