
काठमाडौँ : स्पेन अधिराज्यका लागि नेपालका आवासीय राजदूत एवम् माल्टाका लागि गैरआवासीय राजदूत शनिल नेपालले स्पेन पुगेर पदभार ग्रहण गरेका छन् ।
आफ्नो कार्यभार सम्हाल्न हिजो माघ ७ गते तदनुसार २० जनवरी २०२५ का दिन नेपालबाट स्पेन पुगेका नेपालले हिजो नै स्पेनको म्याड्रिडस्थित नेपाली राजदूतावासमा पदभार ग्रहण गरेका हुन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते राजदूतमा नियुक्त गरेका थिए ।
सरकारले नेपाललाई गत साउन १६ गते स्पेनका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसपछि गत भदौ २७ गते संसदीय सुनवाई भई संसदीय समितिबाट नेपालको नाम अनुमोदन भएको थियो।
यस अघि २०८० माघ २६ गते राष्ट्रपति पौडेलले नै पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए ।
तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कार्तिक २३ गते पोर्चुगलमा दूतावास स्थापना गर्ने र उनलाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको थियो।
राजदूत नेपालले यसअघि दर्जनौँ अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघ संस्थाहरूका विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् ।
राजजदूत नेपालले स्पेनमा नेपाली राजदूतका रुपमा रहँदा स्पेनबाट नेपालको अर्थतन्त्र, पर्यटन, संस्कृति, रोजगारी, शिक्षा लगायतका क्षेत्रमा लाभ पुर्याउने उपायहरू खोज्ने बताए ।
सरकारले राजदूत नेपाललाई अर्को युरोपेली मुलुक माल्टाको समेत जिम्मेवारी तोकेको छ। माल्टामा नेपाली दूतावास नरहेकाले उनलाई नै जिम्मेवारी तोकिएको हो।