जीवनका वास्तविक नायक ‘बा’

  • ख-
  • ख+

बा आफैंमा एक अति आदरणीय र सम्मानित पात्र हो, हामी सबैको जीवनमा। बा शब्द यति आदरणीय र सम्मानित बन्नमा बाहरूले आफ्ना सन्तानका निम्ति गरेका त्याग र समर्पणको प्रतिफल हो। सबैका बाले आफ्नो छोराछोरी हुर्काउन, पढाउन र उनीहरूलाई एउटा सक्षम मानिस बनाउन ठूलो योगदान दिएका हुन्छन। परिवारको उन्नति र प्रगतिमा दिनरात नभनी मिहिनेत गर्दा गर्दा जीवनमा सायद राम्रोसंग हाँस्न पनि विर्सेका हुन्छन बाहरूले। एउटा कुनै परिवारलाई सफल बनाउन बाहरुले गरेको सम्पूर्ण जीवनको आहुति सायद शब्दहरूमा बर्णन गर्न सकिदैन।

बाहिर हेर्दा ओखर जस्तै कठोर देखिने बा भित्र भने कोमल हृदयका प्रतीक हुन्छन। वास्तवमा बा त बरू, ओखर भित्रको गुदी जस्तै हुन्, खाँदा त्यति मीठो नभए पनि हजारौं गुणले युक्त्त। सानामा हात समाएर ताते ताते भन्न सिकाउने, आफ्ना काँधमा बोकेर हामीलाई घुमाउने, र ठूलो भएपछी सहि मार्ग दर्शन गर्ने बा हामी सबैका जीवनका एक असल मार्गदर्शक हुन। उनीहरु बाटो बिराउन लागेका आफ्ना सन्तान लाई सदैव सहि बाटो तिर हिंडाउन प्रेरित गरिरहन्छन। जीवनका कठीनतम परिस्थितिहरूमा हामीलाई सल्लाह,सुझाव र हौंसला दिईरहन्छन बाहरूले।

सन्तान हुर्काउन, बढाउन र पढाउन दिनरात नभनी परिश्रम गर्ने क्षमता हुन्छ बाहरूमा। अहिलेको नेपाली परिप्रेक्ष्यमा नै हेर्ने हो भने पनि, सन्तानको सुखद भविष्य सुनिश्चित गर्न अरबका खाडीहरूमा पचास डिग्रीको तातो घाम खाइरहेका छन कयौं बाहरूले। यस्तै अन्य कति अरू देशहरूमा कतिपय बाहरू सन्तानकालागि दुख झेल्दै चिसोले गर्दा औंला नै झर्ने जस्ता कठ्यांग्रिने जाडो खेप्न वाध्य छन । वास्तवमा सन्तानका निम्ति थकाई, निन्द्रा, भोक सबै भुलेका हुन्छन्न बाहरूले। आफ्नै देशमा बसेर आफ्नै माटोमा दस नंग्रा खियाउने बाहरूको पीडा पनि कम छैन यो संसारमा।

जब जीवनमा हामी कुनै पनि कुरामा सफल हुन्छौं, या कुनै कुरामा खुसी हुन्छौं, त्यतिबेला हामी भन्दा धेरै अन्तरआत्मा देखि नै खुसी हुन्छन बाहरू । त्यसैले त भन्न मनलाग्छ, हामी सन्तानकै खुसीमा रमाउने अद्भुत क्षमता नीहित हुन्छ बाहरूमा। हामीले जीवनमा कुनै सफलता चुम्दा होस् या कुनै कुरामा बाटो बिराउदा नै किन नहोस सम्झि हाल्छौँ बालाई। बाको माया, सद्भाव र प्रेरणा नाचिहाल्छान आँखा वरिपरि। सानामा बाले दिएका गाली अमृत समान लाग्न थाल्छन जीवनका कठीन मोडहरूमा। बाले सिकाएका पाठ, देखाएका बाटा, अर्ती र उपदेशहरू जुन सानो छदा हामीलाई झर्को लाग्ने गर्दथ्यो, तिनै लागू हुन्छन जीवनका अनेकौं अप्ठ्यारा घुम्तीहरूमा । यदि हामीले बाले देखाएको बाटो राम्रो संग अवलम्बन गर्न सक्यौं भने, हामीले जीवनलाई राम्रो संग हाँक्न सक्छौं। त्यसले बा हाम्रो जीवनमा अत्यन्तै महत्त्व बोकेको जीवनको महान् पात्र हो। जब हामी जिन्दगीका अनेकौं परीक्षाहरूमा उतीर्ण हुन्छौं, हाम्रा प्रत्येक सफलताका श्रेय बालाई दिने गर्दछौं। उनीहरू त्यसका लागि शत प्रतिशत हकदार पनि हुन्। त्यसैले मलाई लाग्छ, बा हामी सबैका जीवनका एक वास्तविक नायक हुन्। वास्तविक जीवनरुपी चलचित्रका ।

कुशें औंसीका दिन छोराछोरीहरू जब लहरै लागेर आफ्ना बालाई भेट्न जान्छन अनि थाहा पाउँछु बाको मुख हेर्ने दिन आएछ। अझ आजभोलि त गजबै भएको छ, फेसबुक, इन्स्टा, टिकटक, टुवीटर जस्ता सामजिक संजालहरूले गर्दा थाहा पाईहालिन्छ बाबुको मुख हेर्ने दिन आएछ भनेर। आजभोलि बाले पनि निकै भाउ पाउनुहुन्छ सामाजिक सञ्जालमा यो दिन । जब बाको मुख हेर्ने दिन आउँछ, पोष्टिने गर्दछन सामाजिक संजालका भित्ताहरूमा बाहरूका फोटाहरू। खुसी लाग्दछ वर्षमा एकपल्ट भए नि साथीहरूका बाहरूका फोटा देख्न पाइन्छ फेसबुक, इन्स्टा मै भएपनि। तर हठात् सोच्छु, फोटा राखेर फोटा राख्नेका त मन रमाउला तर मोबाइल नै नहुने वा चलाउन नजान्ने अथवा फेसबुक नै नहुने बाहरूका मन रमाउलान कि नरमाउलान, आफ्ना फोटाहरू राखिएकोमा। बुढेयौलीले धुलमिल भएका आँखाहरूले ती फेसबुकका आफ्ना फोटा ठम्याउँदो हो कि, नठम्याउँदो हो  ? तर कहिलेकाहीं लाग्छ हुँदै नहुनु भन्दा त केही भयो नि, अनि अलिकति चित्त बुझाउँछु जे भए नि यति भए नि गरे भन्नुपर्यो छोराछोरीले भनेर ।

अरू बेलामा महिनामा एक पटक फोन गर्न पनि फुर्सद नहुने छोराछोरीले कम्तिमा वर्षको एकदिन भए पनि बालाई सम्झिए। दुखले चाउरी परेका अनुहार र बुढेयौलीले काट्न जाँगर नचलेका झुस्स दारी भएको फोटो भए पनि देखाइ दिए सामाजिक संजालभरि। देखावटी नै किन नहोस, उनीहरूले आफ्ना साथीहरूका माझ आफूहरूलाई प्रमाणित गरिदिए म मेरो बालाई कत्ति धेरै माया गर्दछु भनेर।

मेरो माथिको भनाइको मतलब बाका फोटा फेसबुक वा सामाजिक संजालमा राख्न नै हुँदैन वा बाको मुख हेर्ने दिन लहरै लागेर मुख हेर्न जानुहुँदैन भन्ने हुँदै होइन। कुशें औसी त यति पवित्र दिन हो जुन दिन हामी सम्पूर्ण हिन्दुहरू आआफ्ना बालाई भक्त्ति, आदर गर्छौं र सम्मान गर्छौं। हिन्दू धर्म र परम्परामा यस दिनको आफ्नै महत्त्व र गरिमा रहेको छ। बा प्रतिको हाम्रो आदर र सत्कारलाई यस पावन दिनले अझ बढाइदिन्छ। आफ्ना बाका फोटा जति हाल्दा पनि हुन्छ सामाजिक सञ्जालतिर। त्यसमा मेरो कुनै आपत्ति होइन । तर यहाँनेर प्रश्न के हो भने, के एकदिन मात्र सम्झदैमा हामीले छोराछोरी हुनुको कर्तव्य र जिम्मेबारी पूरा गर्यौं त ? के एकदिन बाको मुख हेरिदिएर, बालाई मीठो मीठो खान दिएर र सामाजिक संजालमा बाका फोटा पोष्ट गरिदिए पछि हाम्रा आफ्ना सम्पूर्ण कर्तव्य पूरा भए त ? अब हामी सबैले आफैले आफैलाई प्रश्न गर्ने बेला आएको छ। देखावटी र बाहिरी आँखाले नहेरी आफ्नै मनको भित्री आँखाले हेरौं त, हामीले आफ्ना बालाई कति माया दिन सक्यौं। बाको मनलाई हामीले कति खुसी पार्न सक्यौं ? मलाई लाग्छ आफ्नो बूढो भएका बा-आमालाई हामीले हृदयदेखि नै माया गर्नुपर्दछ बनावटी रुपमा मात्र गरिने देखावटी माया होइन, वास्तविक माया !

समयले सधैँ कसलाई पो साथ दिन्छ र ? त्यसैले पनि भनिन्छ, “समय बलबान छ”। समयको चक्र संगै मानिस जन्मन्छ, हुर्कन्छ, युवा हुन्छ, बूढो हुन्छ र एकदिन मर्नु पनि पर्छ। यो श्वाशत सत्य हो। समयसंगै बाहरूको जाँगर, उत्साह, बल पनि बिस्तारै घट्दै जान्छ। हामीले हेर्दा हेर्दै बाहरूको शरीर जीर्ण बन्छ। उनीहरू पनि एकदिन बूढो बन्छन। जवानी छदा पहाड नै बोक्न सक्ने  जस्ता बल भएका बाहरू परनिर्भर बन्नु पर्ने समय आँउछ। जीवनभर सन्तानका खुसीमा नै हाँसेका बा, जब जीवनको उत्तरार्द्द्मा पुग्छन, साहराको खाँचो पर्दछ। उनीहरूले आफ्ना सन्तानबाट अलिकति माया, हेरचाह, सहानुभूति चाहान्छन । जीवनभरि सन्तानका लागि आफ्नो उर्जाशील समय खर्चिएका बाहरुको जीवन जब पिढीको डीलमा, घरको चौघेरामा सीमित हुन्छ, आँखा फिञ्जाएर प्रतीक्षा गरिरहन्छन आफ्ना सन्तानहरूको । त्यतिबेला चाहिन्छ सहारा बालाई।

तर दुखको साथ मैले यहाँनेर यो भन्नै पर्ने हुन्छ कि, कतिपय छोराहरू त बाले आफूलाई जीवनभर दुख सुख गरेर हुर्काएका, पढाएका र आफ्नो पाखुरी चलाउन सक्षम बनाईदिएका कुराहरू नै बिर्सेर आफ्ना बा संग अंशका बारेमा झगडा गर्छन। बाले जीवनभर कष्टले जोडेको दुई चार रुपयाँ पैसा र अलिकति जग्गामा आँखा लगाउछन्। त्यहि नदिएको बाहानामा बालाई घरैबाट निकालिदिन्छन । अझ पढेलेखेका विद्द्वान भनाउदा सन्तानहरूले नै यस्तो कार्य गरेको देखेर निकै दुख लाग्ने गर्दछ। तिनै सन्तानहरूले आफ्ना बाहरूलाई बृदाश्रम लगेर छाडिदिने जस्ता घृणित कार्य गरेर निर्दयीताको पराकाष्ठा नाघेको पाइन्छ। लाग्छ त्यस्ता निर्दयी सन्तानहरू लाई देखेर बाहरूको मन कति रुँदो हो। बाहरूको आत्माले कति धिक्कार्दो  हो आफ्नो भाग्य लाई। र आफ्नो सन्तानहरूको निर्दयीपनलाई। अनि आफूले जीवनभर सन्तानका लागि दिनरात पसिना चुहाएकोमा कति पछुतो मान्दो हो।

अब हामीले आफैले आफ्नो आत्मा संग प्रश्न गर्ने बेला भएको छ, जब बाहरूलाई हाम्रो साहरा र भरोसा चाहिन्छ, मायाको आवश्यकता पर्दछ, के दिन सक्छौं बाहरूलाई सहारा, माया र भरोसा ? के हामीले आफूलाई असल सन्तान हौँ भनेर प्रमाणित गर्न सक्छौं त त्यतिबेला ? वास्तवमा भन्ने हो भने यस्तै समयले गर्छ असल सन्तानको पहिचान। त्यतिखेर नै हुन्छ असल सन्तानको अग्निपरीक्षा। बल्ल थाहा हुन्छ सन्तानले कुन श्रेणीमा उत्तीर्ण गर्दछ एक असल सन्तान हुनुको परीक्षा। चाहे सामाजिक संजालमा बाहरूका फोटा राखौं वा नराखौं त्यसले खासै महत्त्व दिने छैन। बाहरूलाई त हामीहरूले आ-आफ्ना हृदयमा राख्न सक्नुपर्दछ।

भगवान त छन कि छैनन् त्यो हामी कसैलाई पनि थाहा छैन। हामी कसैले भगवान लाई देखेका पनि छैनौं। त्यो त एउटा विश्वास मात्र हो। तर बा-आमा भनेका साक्षात् भगवान हुन हाम्रै आँखाका अगाडि, देखेका र भोगेका। मेरो विचारमा हामी कसैले पनि चार दिशा भौउतारिनु पर्दैन भगवानको खोजी गर्न। भगवानलाई प्राप्त गर्ने बाहानामा कुनै देखावटी ढोंग रचिरहुनु पनि आवश्यक छैन। अनि भगवानका नाममा ताम झाम गरि लाखौँ खर्च गरेर कुनै यज्ञ लगाइरनु पर्दैन। बस हामीले आफ्नै आफ्नै घरभित्रका ईश्वरलाई चिन्न सक्नु पर्दछ। बाआमा भनेका हामी सबैका साक्षात ईश्वर हुन्। केवल श्रद्दा गर्नुपर्छ आफ्नै बुवाआमा प्रति। भक्त्ति लागाएर पूजा गर्नुपर्छ, आफ्नै आँखा अगाडिका साक्षात भगवानको। सेवा गर्नुपर्छं उनीहरूको अनि मात्र मिल्नेछ धर्म। अनि मात्र मुस्कुराउनेछ बाहरूको आत्मा। जब आफ्ना जन्मदाताको मन खुसी पार्न सकिनेछ अनि मात्र प्राप्त गर्न सकिनेछ असली भगवानलाई।

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड, अमेरिका ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी