
दमौली : आजबाट हिन्दु धर्मावलम्बीहरुको श्री स्वस्थानी ब्रतकथा शुरु भएको छ । श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । घर–घरमा सात्विक भावले श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ ।
यो व्रत बस्नाले ब्रताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।
शिव पार्वतीको विवाहपछि मनोकांक्षा सिद्ध हुने विश्वासका साथ स्वस्थानीको ब्रत बस्ने र कथा सुन्ने गरिएको हो । इहलोकमा सुख, सन्तोष, उन्नती तथा परलोकमा शिवलोक पाउने कामनाका साथ जगदीश्वर महादेवको स्तुति एवं भक्तिभावपूर्वक ब्रत बस्ने गरिन्छ । स्वस्थानी ब्रत कथा सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनि बालुवाको शिवलिङ्ग बनाई एक महिनासम्म निराहार तपस्या गरी मनोकांक्षा पूर्ण भएको कथासँग जोडिएको छ ।