
दमौली : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पैसा अभावले गर्दा उपचार नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य गर्न नेपाल सरकार लागेको बताएका छन् ।
नेपाली काँग्रेस तनहुँको पार्टी कार्यालयमा शनिबार नेपाली काङ्ग्रेस तनहुँले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै पौडेलले पैसाको अभावमा उपचार नपाएर कोही पनि मर्नु पर्ने छैन भने । उनले त्यस्ताको उपचार गराउने जिम्मा सरकारले लिने गरि काम भैरहेको बताए ।
स्वास्थ्य बिमाको पहुँच र रकमको वृद्धि गरेर उपचार नपाएर मर्नुपर्ने बाध्यताको अन्त्य गर्न लागेको पौडेलको भनाई थियो । बिरामीको जीवन रक्षाका मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनका कसैले पनि पैसा अभावमा उपचार नरोकिने पौडेलले बताए । स्वास्थ्य बिमालाई पाँच लाख पुर्याउन स्रोत व्यवस्थापनमा सरकार लागेको मन्त्री पौडेलले जानकारी दिए ।
मन्त्री पौडेलले भने, ‘‘स्वास्थ्य बिमालाई पाँच लाख पु¥याउँछौं मात्र भनेका होइनौं, कसरी स्रोत जम्मा गछौं भन्ने कुराको गृहकार्य गरेका छौं ।’’ नाफामूलक संस्था र नागरिकबाट उठ्ने करको केही रकम बिमा कोषमा ल्याउने तयारी भएको पौडेलले जानकारी दिए ।
जटिल रोग लागेका बिरामीलाई एक लाखले उपचार सम्भव नहुने भएकाले पाँच लाख पुर्याउने उनको भनाई थियो । सबै नागरिकको उपचारमा पहुँच पुर्याउन प्रभावकारी निर्णय भएको पौडेलले बताए ।
उनले १४ वर्ष मुनिका बालबालिकालाई क्यान्सरको नि:शुल्क हुने उपचार कार्यान्वयमा आईसकेको उदाहरण दिँदै सरकार स्वास्थ्य प्रति गंभिर रहेको बताए ।
क्यान्सर उपचार सेवा देशको सातै प्रदेशमा सुरु भईसकेको , मतिष्कघात हुनेलाई नि:शुल्क औषधीको व्यवस्थापन गर्न लागिएको पौडेलले बताए ।
मन्त्री पौडेल तनहुँ महोत्सवस्थल तथा जनजुक्त शाही माविको कार्यक्रममा पनि सहभागी बनेका थिए ।