दमौलीः उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताएका छन् ।
दमौलीमा बिहीबारबाट शुरु नवौं तनहुँ महोत्सवको उद्घाटन गर्दै उनले कृषकको भलाई र देशको आर्थिक विकासका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिए ।
तनहुँको राजनीतिक मात्र नभई कृषि,पर्यटन र उर्जाको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका ररहेको बताएका सिंहले नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन अबको शक्ति उपयोग गर्नुपर्नेमा जोड दिए ।
कृषि उत्पादन वृद्धि गर्न तपाईं हामी सबैले जोड दिनुपर्छ, उनले भने ।
उपप्रम सिंहले महोत्सवले आर्थिक गतिविधि बढाउन, स्थानीय उत्पादनको बजारीकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले वर्तमान सरकारको प्राथिमकता नागरिकको जिविका सहज बनाउनु रहेको भन्दै त्यसका लागि सरकारले कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रको विकासमा विशेष ध्यान दिइरहेको बताए ।
महोत्सवले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक नेपाली समाजको चित्र प्रस्तुत गरेको भन्दै उहाँले कलासँस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि पनि महोत्सव हुनु सकारात्मक रहेको धारणा राखे ।
तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारबाट शुरु महोत्सव आगामी माघ ७ गतेसम्म बीपी वनवाटिका खेल मैदान दमौलीमा हुनेछ ।
महोत्सवमा कृषि उपज बिक्रीका लागि प्राथमिकता दिंदै निःशुल्क स्टलको व्यवस्था गरिएको मुल संयोजक एवं आयोजक तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठनाथ मिश्रले जानकारी दिए ।
महोत्सवका निर्देशक पविन्द्रकुमार श्रेष्ठका अनुसार महोत्सव अवधिभर चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुततीका साथै स्थानीय सांस्कृतिक प्रदर्शनी पनि गरिनेछ ।