गोरखाका बोगटी सचिन स्मृति दौड विजेता

दमौली न्युज
  • ख-
  • ख+

दमौली : आफ्ना संस्थापक सहसचिव स्व. सचिनकुमार श्रेष्ठको स्मृतिमा रोटर्‍याक्ट क्लब अफ दमौलीले शनिबार आयोजना गरेको २२औ सचिन स्मृति खुल्ला दौड प्रतियोगितामा गोरखाको सिरानचोक गाउँपालिका-३ का दिनेश सिंह बोगटी पहिलो भएका छन् ।

दमौली अनसनचोकदेखि छाब्दी बाराही मन्दिरसम्मको ९ किमि दूरी २९ मिनेट १६ सेकेण्डमा पार गर्दै बोगटी पहिलो भएका हुन् ।

प्रतियोगितामा नुवाकोटका संजय तामाङले २९ मिनेट २१ सेकेण्डमा दुरी पुरा गरी दोश्रो र तनहुँको ऋषिङ गाउँपालिका(४ भिरकोटका अमृत विश्वकर्माले ३० मिनेटमा सो दुरी पुरा गरी तृतीय भएका छन् ।

त्यस्तै महिलातर्फ ५५ मिनेटमा उक्त दूरी पार गर्दै दमौलीकी चेतना कटुवाल पहिलो र ४५ मिनेटमा उक्त दूरी पार गर्दै दमौलीका १० वर्षीय संगम रानाभाट बाल धावक तर्फ पहिलो भएको क्लबका अध्यक्ष रवि अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा प्रथमलाई रु १५ हजार ५ सय, द्वितीय हुनेलाई रु १२ हजार ५ सय र तृतीय हुनेलाई रु ८ हजार ५ सय पुरस्कार प्रदान गरिएको छ । महिला तर्फ प्रथम र बाल धावकलाई जनही १ हजार ५ सयसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक किरण श्रेष्ठले जानकारी दिए ।

यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको क्लबले जनाएको छ । प्रतियोगितामा १ सय ११ जना धावकको सहभागिता रहेको कार्यक्रम संयोजक श्रेष्ठले बताए ।

विगतका वर्षहरुमा प्रशासनचोकबाट शुरु भई घाँसीकुवा पुगेर पुनः प्रशासनचोकमा आएर दौड प्रतियोगिता सकिने गरेपनि केहि वर्ष यता दौडको रुट परिवर्तन गरिएको हो । छाब्दीवाराही मन्दिरको धार्मिक पर्यटन प्रबद्र्धनका लागि पनि दौडले सहयोग पुग्ने क्लबका अध्यक्ष अधिकारीले जानकारी दिए ।

दमौलीको अनसन चौतारीबाट शुरु भएको दौड सफासडक, पृथ्वीराजमार्ग, गल्वुवेशी, भादगाउँ हुँदै छाब्दी बाराही मन्दिरमा पुगेर टुङ्गिएको थियो । यस पटकको प्रतियोगितामा विभागिय धावकलाई सहभागि नगराईएको अध्यक्ष अधिकारीले बताए ।

भारतको कोलकातामा क्लबको कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका संस्थापक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लबले सन् २००३ देखि हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष अधिकारीले बताए ।

कार्यक्रमको उद्घाटन व्यास नगरपालिकामा प्रमुख वैकुण्ठ न्यौपानेले गरेका थिए । सो अवसरमा बोल्दै न्यौपानेले खेलकुदले अनुशासन र स्वास्थ्यमा समेत सहयोग पुग्ने बताए ।

यस्तै कार्यक्रमको समापन समारोहको प्रमुख अतिथि छाब्दी बाराही विकास कोषका अध्यक्ष थान बहादुर थापा रहेका थिए । सो अवसरमा अध्यक्ष थापाले रोटर्‍याक्टको दौडले छाब्दीको प्रचारमा सहयोग पुगेको बताए ।

क्लबले हरेक वर्ष देशव्यापी रक्तदानसँगै दौड प्रतियोगिता गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी