दमौली कारागारमा कैदीबन्दीमा संक्रमणपछि आफन्तमा त्रास

  • ख-
  • ख+

प्रशासन भन्छ,‘आवश्यक सतर्कता अपनाएका छौं’

दमौलीः सोमबार व्यास नगरपालिकामा भेटिएका संक्रमितमा एक जना दमौली कारागारका कैदीबन्दी पनि छन् । कारागार प्रशासनले औपचारिक सार्वजनिक नगरे पनि नगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणमा एक जना दमौली कारागारका कैदीबन्दीमा संक्रमण भेटिएको उल्लेख छ ।

यससँगै कारागारमा रहेका अरु कैदीबन्दीका आफन्त आफ्ना सदस्यमा पनि संक्रमण फैलने त्रासमा छन् । संक्रमितसँगै रहेकाको पीसीआर परीक्षण गरिनुपर्नेमा नगरिएको र आवश्यक सावधानी नअपनाइएको गुनासो उनीहरुको छ ।

एक कैदीबन्दीकी आफन्त व्यास ४ कि कृष्टिना गुरुङले भनिन्,‘संक्रमितसँगै बसेकाको पीसीआर परीक्षण गरेर बेग्लै राख्नुपर्ने हो त्यसो गरिएको छैन ।’ उनले कारागारमा धेरै मानिस रहने भएकाले संक्रमण फैलिएमा अवस्था डरलाग्दो हुने भन्दै आवश्यक सावधानी अपनाउन माग गरिन् ।

आवश्यक सतर्कता अपनाइएको छः कारागार प्रशासन

दमौली कारागार प्रशासनले भने संक्रमितको आधिकारिक जानकारी प्राप्त नभए पनि लक्षण देखिएका र उनीसँगको सम्पर्कमा आएकालाई बेग्लै राखिएको बताएको छ । ‘हामीकहाँ संक्रमित भनेर आधिकारिक जानकारी आएको छैन,’ निमित्त जेलर नारायण अधिकारीले भने,‘तर लक्षण देखिएका आधारमा ती कैदीबन्दीलाई बेग्लै र उनको सम्पर्कमा रहेका आठजनालाई बेग्लै राखेका छौं ।’ उनले लक्षण देखिएकालाई मात्र पीसीआर परीक्षण गर्ने सरकारको नीति भएकाले लक्षण नदेखिएकालाई बेग्लै राखिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी