
पोखरा : गण्डकी प्रदेश सरकारमा एमाले सहभागी भएको छ। सोमबार एमालेका चार मन्त्रीले मन्त्रीको शपथ लिएसँगै एमाले गण्डकी प्रदेशमा सरकामा गएको हो।
गण्डकीमा कांग्रेसले मुख्यमन्त्री सहित ५ र एमालेले ४ मन्त्रालय लिएका छन्। यस अघि ७ मन्त्रालय रहेकोमा एमालेलाई सहभागी बनाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार मन्त्रलय फुटाएर ७ बाट ९ बनाएका थिए।
एमालेबाट पद्मा जिसी श्रेष्ठ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, कृष्ण पाठक स्वास्थ्य मन्त्री, मित्रलाल बस्याल उद्योग तथा पर्यटन मन्त्री र प्रकाश बहादुर अधिकारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरुले सोमबार दिउँसो शपथग्रहण गरेका थिए।
यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई जिम्मेवारी हेरफेर गर्दै वन तथा वातावरण मन्त्रीको जिम्मा दिइएको थियो । मुख्यमन्त्री पाण्डेले मनाङे र फणिन्द्र देवकोटाले संकटको बेला सहयोग गरेको भन्दै कांग्रेसको कोटाबाटै मन्त्री कायम राखेका हुन् ।
कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा सो दलका डा.टकराज गुरुङले आर्थिक मामिला मन्त्री र विन्दुकुमार थापाले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
त्यस्तै, फडिन्द्र देवकोटा जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन्। मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार जोगाइ दिएका देवकोटा र गुरुङलाई मन्त्री बनाइ राख्नुपर्ने बाध्यताले कांग्रेसले २ वटा मन्त्री गुमाएको छ । यद्यपि अहिले कांग्रेस रएमाले मिल्दा प्रष्ट बहुमत छ ।