
निर्माण सम्पन्न भएपछि नयाँ दमौली सबस्टेशन पनि सोही कम्पनीसँग २०८१ साल जेठमा निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको रातमाटे सबस्टेशन जस्तै एक हजार मेगा भोल्ट एम्पिएर क्षमताका नेपालकै ठुला सबस्टेशनमध्ये एउटा बन्ने एमसीए नेपालले जनाएको छ ।
दमौलीः विद्युत प्रशारणका लागि दमौलीमा निर्माण हुने ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेशन निर्माणका लागि एमसीए नेपालले ५ अब १९ करोड (३.८८ करोड अमेरिकी डलर)को ठेक्का सम्झौता गरेको छ । अमेरिकी सहायताको एमसीसी परियोजना र नेपाल सरकारसमेतको सहभागीतामा सञ्चालित एमसीए नेपालले दमौलीमा निर्माण हुन लागेको सबस्टेशनका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग सम्झौता गरेको हो ।
निर्माण सम्पन्न भएपछि नयाँ दमौली सबस्टेशन पनि सोही कम्पनीसँग २०८१ साल जेठमा निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको रातमाटे सबस्टेशन जस्तै एक हजार मेगा भोल्ट एम्पिएर क्षमताका नेपालकै ठुला सबस्टेशनमध्ये एउटा बन्ने एमसीए नेपालले जनाएको छ । नयाँ दमौली सबस्टेशनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेशनबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्ने एमसीए नेपालले जनाएको छ ।
संघीय राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का, नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सन, एमसिए–नेपालका सञ्चालक समितिका सदस्यहरू, टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङका प्रबन्ध निर्देशक पदम प्रकाश गुप्ता, नेपाल विद्युत् प्राधिकरण, एमसीसी र एमसिए–नेपालका अधिकारीहरूको उपस्थितीका बीच एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्ग बहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडका व्यापार निर्देशक श्री राजीव अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरे ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले यी तीनवटै सबस्टेशनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे ।
अर्थ मन्त्रालयका सचिव एवं एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले यो प्रगति एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि एमसिए–नेपालले गरेका निरन्तर प्रयासहरूको राम्रो सङ्केत हो । नेपालको फैलँदो ऊर्जा क्षेत्रका लागि यी तीनवटा सबस्टेशन महत्वपूर्ण छन् भन्दै यिनीहरूले नेपालको आर्थिक विकासका लागि आवश्यक औद्योगिक र व्यापारिक क्रियाकलाप विस्तार गर्न भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्ने बताए ।
अमेरिकी राजदूत श्री थम्प्सनले नेपाल सरकार, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र एमसिए–नेपालसँग काँधमा काँध मिलाउँदै यो आयोजनाको प्रगति र नेपालको सुन्दर भविष्य निर्माणका लागि यहाँहरू सबैले निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाको प्रशंसा गरे ।
एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्ग बहादुर विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गएको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा तीनैवटा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनु महत्वपूर्ण कोशेढुङ्गा भएको बताए ।
एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजना अन्तर्गत तीनवटा सबस्टेसनका अतिरिक्त काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किमि लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ । अहिले १८ किमि लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्याङ्कन कार्य भइरहेको छ । एमसिए–नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ ।
त्यस्तै, बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्ष यथाशीघ्र पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ । एमसिए–नेपालले सडक मर्मत आयोजनातर्फ फूल डेप्थ रिक्लेमेसनसम्बन्धी खरिदका लागि यही वर्षको भदौभित्र बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।