राजनीतिमा मेरो कुनै स्वार्थ छैन, विकास गर्छु : विनोद चौधरी

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले राजनीति भाषणका लागि नभई विकासका लागि हुनुपर्नेमा जोड दिएका छन् ।

कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नं। १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीले विकासका लागि राजनीति रोजेको प्रष्ट पारे ।

शनिबार नवलपरासीमा स्वर्गीय पृथ्वीराज कँडेल बसपार्कको उद्घाटन एवम् शालिक अनावरण कार्यक्रममा प्रतिष्ठित उद्योगपतिसमेत रहेका सांसद चौधरीले भने, ‘म निर्वाचित भइसकेपछि निरन्तर यो क्षेत्रको विकासका लागि प्रतिवद्ध भएर लागेको छु । यहाँको विकासबाहेक मेरो अरु कुनै स्वार्थ छैन ।’


उनले डेढ वर्षको बीचमा आफूले गरेका महत्वपूर्ण कामका बारेमा जानकारीसमेत गराएका थिए । वर्षायाममा वर्षेनी डुवानको समस्या भोग्दै आएको नवलपरासीमा गण्डक परियोजना अन्तर्गत डुबानको समस्या अन्त्य गर्ने गरी काम भइरहेको उनले बताए ।

‘यो परियोजनाको काम सुरु भइसकेको छ । यो क्षेत्रमा डुवानका कारण वर्षौंदेखि हजारौं विघामा लगाइएको बाली नष्ट हुने गरेको छ । हजारौं किसान घरबारविहीन हुने गरेका छन् । यो विडम्बनाको अब अन्त्य हुनेछ भन्ने हाम्रो विश्वास छ,’ सांसद चौधरीले भने, ‘यसको डीपीआर मात्रै तयार भएको छैन । यसको कार्यान्वयन सुरु भइसकेको छ । हाम्रो निरन्तरको पहलमा सरकारले बजेटमा समेत राखेको छ ।’


उनले गण्डक परियोजनाले अब सार्थकता पाउने विश्वास गरे । दुबै देशबाट डुवान र कटान नियन्त्रणका लागि काम भइरहेको उल्लेख गर्दै उनले सिचाईको समस्या पनि समाधान हुने बताए ।


कांग्रेस सभापति शेरबहादुर देउवासमेत सहभागी रहेको कार्यक्रममा सांसद चौधरीले अबको राजनीति विकास र समृद्धिका लागि हुनुपर्ने बताए । वर्षेनी हुने गरेको मलको अभाव हटाउन आफू सुरुदेखि नै सरकारसँग संवाद गरिरहेको सांसद चौधरीले बताए । उनले निर्वाचन क्षेत्रमा स्वास्थ्य, शिक्षा, रोजगारीको सुनिश्चिताका लागि काम भइरहेको जनाए ।

‘सुरुदेखि नै हामी विभिन्न सामाजिक कार्यमार्फत् यहाँका जनतासँग जोडिरहेका छौं । युवा र महिलालाई उद्यमशील बनाउन विभिन्न कार्यक्रमहरु भइरहेका छन्, उनले भने, यसका लागि सबैको हातेमालो आवश्यक हुन्छ ।’


उनले साना तथा मझौला उद्योगको स्थापना, ट्रमा सेन्टर निर्माण, चिसापानी अस्पतालको स्तरोन्नति, युवालाई प्राविधिक शिक्षालगायतका दर्जनौं कार्यहरु भइरहेको बताए ।


सांसद चौधरीले स्वर्गीय पृथ्वीराज कँडेलको योगदानका विषयमा पनि चर्चा गरेका थिए । स्वर्गीय पृथ्वीराज कँडेल नेपाली कांग्रेसका तर्फबाट २०१५ सालको आमनिर्वाचनमा निर्वाचित जनप्रतिनिधि हुन् । उनले ६५ वर्षअघि नवलपरासीको महेशपुरमा बसपार्क निर्माण गर्ने परिकल्पना गरेका थिए । त्यसका लागि जग्गाको व्यवस्थापन पनि गरेका थिए ।

उनका छोरा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्र कँडेलको पहलमा बसपार्क निर्माण सम्भव भएको हो । नवलपरासी जिल्लाकै पहिलो जननिर्वाचित जनप्रतिनिधि स्वर्गीय पृथ्वीराज कँडेलको सम्मानका लागि उनको नाममा बसपार्क निर्माण गरिनुका साथै बसपार्क परिसरमा अर्धकदको शालिकको अनावरण गरिएको हो ।

सांसद चौधरीले भने, ‘धेरै समाजसेवी काम गर्नुभएका स्वर्गीय पृथ्वीराज कँडेलको सम्झना हाम्रा सामू अझै संयौं वर्ष रहिरहनेछन् । देशमा प्रजातन्त्र स्थापनाका लागि र यो जिल्लाको समग्र विकासका लािग उहाँले खेल्नुभएको भूमिका र योगदान हाम्रा लागि स्मरणीय छन् र अनुकरणीय छन् ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्