
बन्दिपुर: ‘पहाडकी रानी’ उपमा पाएको बन्दीपुरमा घुम्न आउने पर्यटक अब केबलकार बाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आज देखि व्यवसायीक रुपमा सञ्चालनमा आए संगै केवलकार चोक देखि मन्दिर सम्म १ हजार ७ सय मिटर दुरी अव ७ मिनेटमा पार गर्न सकिने छ ।
बन्दिपुर आउने पर्यटकले केवलकार मार्फत सहज रुपमा यात्रा गर्न पाउने छन्। अन्तराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त गरे पछि व्यवसायीक रुपमा आज देखि सञ्चालनमा ल्याइएको कार्यकारी अधिकृत किरण पोख्रेलले जानकारी दिए ।
पोख्रेलले भने, ‘वैशाख १ गते शुभ मुहूर्त तथा वास्तुपूजा गरी आंशिक रुपमा सञ्चालनमा ल्याएका थियौँ । आजदेखि व्यवसायी रुपमा सञ्चालनमा गर्न लागेका हौँ ।’
टियुभी नर्ड जर्मनीअन्तर्गतको कम्पनी टियुभीनर्ड इन्डियाले परियोजनाको सुपरीवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार करिब एक वर्ष अघिदेखि नै केबलकारको सम्पूर्ण मेकानिकल सामग्रीको जडान गरी लोड परीक्षण भइरहेको थियो ।
तीन चरणमा परीक्षणकाल सकिएपछि कम्पनीलाई व्यावसायिक ‘अप्रेसन टियुभी’ प्रमाणपत्र प्राप्त भएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
‘कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी भएपछि मात्रै केबलकार सञ्चालनका लागि खुल्ला गरिएको हो’, उनले भने।
कम्पनीका अनुसार केबलकारको ३१ डिब्बामध्ये २१ वटाले यात्रु बोक्नेछन् भने अन्यले सामग्री ढुवानी गर्नेछन् । प्रति घण्टा पाँच यात्रु बोक्न सक्ने क्षमता रहेको यस केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजे देखि राति ११ बजेसम्म सञ्चालन हुने जनाईएको छ ।