
देव गजमेर
दुलेगौडाः दलित समाज शुक्लागण्डकी नगर समितिले जेठ २१ गते सार्वजनिक विदा दिन माग गरेको छ ।
जेठ २१ गते जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस भएको हुदा उक्त दिन शुक्लागण्डकी नगरपालिका भित्र सार्वजनिक विदा दिन माग गरिएको हो ।
मङगलवार नगरप्रमुख कृष्णराज पण्डित समक्ष ध्यानाकर्षण पत्र बुझाउदै समाजका अध्यक्ष भरत लामगादेले छुवाछुत उन्मुलन दिवसको व्यापक प्रचार–प्रचार गर्नका लागि बिदाको माग राखिएको बताए ।
आजको दिन नेपालमा छुवाछुत उन्मुलन भएको दिन भनेर प्रत्येक नागरिकमा जानकारी भयो भने व्यवहारमा केहि फरक हुन्छ भन्ने विस्वास छ । कानुनमा ब्यबस्था भएको कुरा प्रचार नहुदा छुवाछुत समाजमा हट्न नसकेको उनको भनाई छ ।
दलित नेता तथा अभियन्ताहरु सहित पुगेको टोली मार्फत ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख पण्डितले छुवाछुत जस्तो अमानवीय व्यवहार हटाउन नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले निती तथा कार्यक्रम नै बनाएर नगरपालिकाले बिभेद हटाउन पहल गरीरहेको जानकारी दिए । उपेक्षित समुदायको माग प्रति स्थानीय सरकार र आफु सकरात्मक रहेको पनि जनाए ।