कारोबारमा झुक्याएर ठगी गरेको आरोपमा ४ जना पक्राउ

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : सुनका गहना, गाडी र जग्गा कारोबार गर्ने भनी मानिसहरुलाई विश्वासमा पार्दै ठगी गरेर फरार हुने ४ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेको भुम्लु गाउँपालिका–३ का कुमार थापा, स्याङ्जाको पुतलीबजार नगरपालिका–४ की मीना दमै, सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ का रविन कुमार थापा र सप्तरीको सप्तकोशी नगरपालिका–६ का दिलिप कुमार लाभलाई पक्राउ गरेको हो ।

उनीहरूले समूह बनाई सुनका गरगहना, गाडी र जग्गाको कारोबार देखाई विश्वासमा पार्ने र ठगी गरेको पाइएको प्रहरीले बताएको छ ।

काभ्रेका कुमार थापाले सुनका गरगहना विदेशमा निर्यात गर्दैछौं भनेर पोखराका एक सुनचाँदी व्यवसायीसँग पहिलो पटक १० लाख, दोस्रो पटक २० लाख र तेस्रो पटक ३० लाखको गहना खरिद गरेका थिए । यसरी ठूलो मात्रामा सुन खरिद गरेर विश्वासमा पारेपछि १ करोड ८० लाख रुपैयाँको गहना बाहिर निर्यात गर्ने भनी लिएर फरार भएका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

त्यस्तै दिलिपकुमार लाभले भक्तपुरको सुडालमा अरुको नाममा रहेको १२ आना जग्गा दिलाइदिने भनी परिवार अटो मोवाइलका सञ्चालकसँग ३ वटा गाडी र २६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यसरी परिवार अटोमोवाइल प्रालिबाट लिएको गाडी ५४ लाख ५० हजार मूल्य तय गरी लिएकामा रकम नतिरी बेपत्ता भएका थिए ।

यो समूहले चितवनमा पनि अरु व्यवसायीहरुको जग्गा बैना गरी १ करोड ३६ लाख ठगी गरेको पाइएको थियो । मीना दमैविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा ७ वटा ठगी मुद्दा र चितवनमा २ वटा ठगी मुद्दा दर्ता भएको छ ।

कुमार थापाविरुद्ध भने कास्कीमा २ करोड बैंकिङ कसुरको मुद्दा दर्ता भएको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कुमार थापाले धेरै कारोबार मीना दमैको नामबाट गर्ने गरेको पाइएको छ । उनले महिलाको नाममा कारोबार गर्दा विश्वासमा पार्न सजिलो हुने भएकाले त्यो उपाय लगाएको देखिएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

रविनकुमार थापाविरुद्ध चितवनमा ४ वटा र काठमाडौंमा ३ वटा मुद्दा दर्ता भएको पाइएको छ । उनीहरुबाट करिब ७ करोड रुपैयाँ ठगी भएको पाइएको प्रहरीको भनाइ छ । अनलाइनखबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी