
दमौली : कार्यालय प्रमुखलाई कोरोना संक्रमण देखिए लगत्तै सेवा बन्द गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ९ दिन पछि सञ्चालनमा आउने भएको छ । गत असोज १७ गते अस्पतालका कार्यालय प्रमुख डाक्टर बालकुमार श्रेष्ठलाई कोरोना संक्रमण देखिए लगत्तै कार्यालयका सम्पूर्ण उपचार तथा सेवा बन्द भएको थियो । संक्रमित श्रेष्ठका सम्पर्कमा आएका कार्यालयका अन्य ९ जना कर्मचारीको नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा २५ गते सबैको रिपोर्ट नेगेटिभ आए लगत्तै २७ गते सोमबारबाट नियमित खुल्ने भएको कार्यालयका नायव पशु स्वास्थ्य प्राबिधिक रुद्र सिं ठकुरीले जानकारी दिए । श्रेष्ठका सम्पर्कमा आएका हामी विगत नौ दिनदेखि कार्यालय भित्र एकान्तबास बस्दै आएका थियौं उनले भने । केन्द्रले आर्थिक वर्ष २०७७/०७८ लागि साना व्यवसायिक फर्म स्थापना तथा विस्तारको १ महिने सूचना जारी गरेको हुँदा सोमबारदेखि उपचार तथा सम्पूर्ण सेवाहरु प्रवाह गरिने ठकुरीले जानकारी दिए । क्षेत्रीय अस्पताल पोखरामा उपचार गराइरहेका श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको ठकुरीले बताए ।