
दमौलीः जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका ३ जनासहित व्यासमा भेटिएका संक्रमित १५ जनामा एकै चोटि कोरोना संक्रमण भेटिएको छ । एक थुनुवामा संक्रमण भेटिएपछि उनीहरुको पनि परीक्षण गरिएको थियो ।
संक्रमण भेटिएकामा व्यास नगरपालिकाका २ कर्मचारी पनि छन् । विदेशबाट आएका २ जना, तथा केही कर्मचारी पनि संक्रमित भेटिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा व्यास नगरपालिका ठेगाना भएका ११ जनामा संक्रमण देखिएको छ । उनीहरुमा व्यास १० का ३१ वर्षका पुरुष, व्यास १ का १३, १५ र २७ वर्षका पुरुष, व्यास ३ का ४० वर्षका पुरुष, व्यास २ की ३४ वर्षिया महिला, व्यास १४ का २८ वर्षका महिला छन् ।
यसैगरी व्यास ८ की ४२ वर्षिया महिलामा पनि संक्रमण भेटिएको निर्देशनालयको विज्ञप्तिमा छ । एक २५ वर्षिया महिलाको भने ठेगाना खुलाइएको छैन ।
नगरपालिकाले यस अघि संक्रमित भेटिएका बैंक कर्मचारी, थुनुवा, प्रहरी तथा संक्रमितको सम्पर्कमा आएका तथा विदेशबाट होम क्वारेन्टिन गरेका व्यक्ति गरी एक सय ३२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाएको थियो ।