
दमौलीः फोहोर फाल्ने ठाउँको खोजीमा प्रगति नहुँदा पनि व्यास नगरपालिकाका लागि भर गर्ने ठाउँ थियो मादी किनारको भतेरी । तर यस वर्ष पटक पटक आएको बाढीले नगरपालिकाको फोहोर फाल्ने लामो समयको अस्थायी ठाउँमा पूर्णतः विराम लगाईदियो ।
अब त्यति मात्र नभएर नदीले धार नै बदलिदिए पछि धेरै निजी र सार्वजनिक जमिन पनि बगरमा परिणत हुँदा यसले सदरमुकामलाई नै जोखिममा पारेको टिप्पणी हुन थालेको छ ।
नदीको धार नै परिवर्तन भएर थप जमिन कटान हुने अवस्था आए पछि अब व्यास नगरपालिकाले भतेरीको कटान नियन्त्रणका लागि पहल थालेको छ । केही दिन अघि मात्र निरिक्षण गरेका नगरपालिकाका जनप्रतिनिधि र सरोकारवालाको भ्रमणपछि अब भतेरीको कटान नियन्त्रणका लागि कार्यक्रम ल्याउने तयारीमा नगरपालिका छ ।
व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले भतेरीको कटान नियन्त्रणका लागि प्रयास थालिएको बताए । ‘भतेरीको कटानले सदरमुकामलाई नै जोखिममा पारेको छ,’ उनले भने,‘हामीले यसलाई कम गर्न आवश्यक पहल थालेका छौं ।’
नदीले भतेरी मात्र नभएर पारीपट्टी र साँगे खोला क्षेत्रमा पनि जमिन कटान गर्ने गरेको छ । अब यी समस्या कम गराउनका लागि धार नै बदल्ने नगरपालिकाको तयारी थालेको छ ।
नगरपालिकाले अब नदीको बीच भागबाट नै मेशिन प्रयोग गरेर बीचबाट नदीलाई पुरानै धारमा बगाउने तयारी छ ।
‘कसरी हुन्छ पुरानै धारमा बगाउने योजना छ,’ सिग्देलले भने,‘कसको कस्तो सहयोग लिन सकिन्छ, लिन्छौं ।’
तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठले भतेरी संकट धेरैका लागि चुनौतीका रुपमा रहेकाले यसको समाधान खोजिनुपर्ने बताउँछन् । ‘संकट समाधानका लागि छलफल भएको छ,’ उनले भने,‘चाँडो कटान नरोके जोखिम झनै बढ्नेछ ।’
समयमै नदी कटान नियन्त्रणमा नआएमा यसले थप क्षति गराउने आँकलनका बीच नगरपालिकाले ल्याएको योजना कहिलेसम्म कार्यान्वयनमा जाला नगरवासीले कुरेर बसेका छन् ।