
काठमाडौंः गैरआवासीय नेपाली संघ एनआरएनएको ११ औं महाधिवेशनमा अध्यक्ष उम्मेदवार महेश श्रेष्ठले आज अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दैछन् ।
दिउँसो ३ बजे होटल हिमालयमा कार्यक्रम गरी श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ । समूहबाट अधिकांश पदमा सहमति जुटाएर टिम नै घोषणा गर्ने तयारी भए पनि केही पदमा सहमति बाँकी छ । सबै पदमा सहमति नजुटेमा हाल श्रेष्ठको उम्मेदवारी घोषणा हुने र अरुको केही दिनभित्र टुंगो लगाउने तयारी छ ।
जापानका अगुवा र हालका उपाध्यक्ष श्रेष्ठलाई जनसम्पर्क समितिका तर्फबाट सर्वसम्मत उम्मेदवारका रुपमा अघि सारिएको छ । यसबाहेक अन्य पक्षबाट पनि समर्थन जुटाएर चुनाव जित्ने योजनामा श्रेष्ठ छन् ।
हाल श्रेष्ठको पक्षमा समर्थन जुटाउन विभिन्न देशका अगुवाहरुको राजधानीमा भेला भैरहेको छ । श्रेष्ठले एनआरएनएलाई एकतावद्ध गरेर प्रवासी नेपालीको गरिमा उँचो पार्न उम्मेदवारी दिन लागेको बताए । एनआरएनए महासचिव डा। केशव पौडेल पनि श्रेष्ठका पक्षमा समर्थन जुटाउन सक्रिय बनेर लागिरहेका छन् । उनले सबै टिम सर्वसम्मत गराउने गरी आफ्नो प्रयास हुने बताए ।