
बन्दिपुर: तनहुँको बन्दीपुर गाँउपालिकाले सुत्केरी,अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य संस्थामा जाँदा–आउँदा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । स्वास्थ्य सूचकाङ्क सुधारका लागि यो सुविधा प्रदान गरिएको हो ।
गाउँपालिकाले मङ्गलबारबाट सुरु गरेको एम्बुलेन्स सेवा उद्घाटनको कार्यक्रममा अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार आर्थिक रूपमा विपन्न परिवारका बिरामीलाई समेत एम्बुलेन्स निःशुल्क प्रदान गरिने छ ।
गाँउपालिकाको आफ्नो एउटा एम्बुलेन्स नभएका कारण विरामीले समयमै उपचार नपाउँदा धेरैको ज्यान गएको हुँदा, गाँउपालिकाले एम्बुलेन्स खरिद गरेको गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङले बताईन ।
बन्दीपुर अस्पतालको नाममा राजश्व छुट सहित गाउँपालिकाले १९ लाख ९१ हजार ४७० रुपैयामा एम्बुलेन्स खरिद गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले जानकारी दिए ।
एम्बुलेन्स सेवा सञ्चालनमा ल्याए पछि स्थानीय बासिन्दा खुसी भएका छन् । स्वास्थ्य संस्थामा सहजको लागि एम्बुलेन्सले मद्दत गर्नेे विश्वास गरिएको छ ।