
विकास खनाल
दमौलीः जिल्ला प्रशासन कार्यालय तनहुँमा नागरिकता र प्रतिलिपि लिन आउने सेवाग्राहीको भिड लागेको छ । दसैंमा देश तथा बिदेशमा बस्ने मानिसहरू घरमा आउने र कार्यालय पनि धेरै दिनपछि खुल्ने हुँदा सेवाग्राहीहरूको भिड बढेको हो । नागरिकता सँगै प्रतिलिपी निकाल्न , राष्ट्रिय परिचयपत्र बनाउन , राहदानी बनाउन बढी भिड लागेको जिल्ला प्रशासन कार्यलय तनहुँले जनाएको छ । बढी भिड भए पछि प्रशासनले सेवाग्राहीको सुविधाको लागि साँझ सात बजेसम्म बसेर काम गरेको छ ।
जिल्लाको टाढा टाढा बाट सेवा लिन सेवाग्राही हरू आएको हुँदा दुई दिनदेखि साँझसम्म कर्मचारी राखेर काम गरेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैर्हेले बताए । ‘दसैंमा घरमा आउँदा आउँदा प्रशासन तिरको काम पनि सकेर जाउँ भन्ने धेरैको सोचाइ हुन्छ , त्यसैले पनि केही दिन कामको चाप हुन्छ,’ गैर्हेले भने ।
सधैं साँझसम्म कर्मचारी राख्दा अफ्ट्यारो हुने भएकोले आजबाट नागरिकता र प्रतिलिपी शाखामा थप दुई जना कर्मचारी थपेर सेवा दिन थालेको गैर्हेले बताए । काम गरिरहँदा कहिले लाइन जाने तथा कहिले सफ्टवेयरले काम नगर्ने हुँदापनि सेवा दिन कहिलेकाहीँ समस्या हुने गरेको प्रशासनले जनाएको छ ।
प्रशासनले एकैदिनमा डेढ सय जनालाई नयाँ नागरिकता दिएको जनाएको छ । यता सेवाग्राहीले भने नागरिकता बनाउन पनि घण्टौं लाइन लागेर बस्नुपरेको गुनासो गरेका छन् । सेवाग्राहीको बढी भिड बढेपछि प्रशासनले पनि त्यहि अनुसारको कर्मचारीको ब्यबस्थापन गर्नुपर्ने उनिहरूको माग छ ।