मानुङ मोटरबाटो: निर्माण नसकिंदै मन्त्रीद्वारा उद्घाटन

  • ख-
  • ख+

विकास खनाल

दमौलीः व्यास नगरपालिका वडा नं ५ मा निर्मित मानुङ पर्यटकीय मोटरमार्गको शहरी विकास मन्त्री मेटमणि चौधरीले उद्घाटन गरेका छन् ।
४.६ किलोमिटर लम्बाइ र ८ मिटर चौडाइ तथा ४.९ किमि नाला एवम् ४.१७ किमि कालोपत्रे भएको सडकको मन्त्री चौधरीले उद्घाटन गरेका हुन् ।

०५४ सालमा बाटो निर्माण सुरु भएको मानुङ जाने मोटरबाटो लामो समय सम्म निर्माण प्रक्रियामा जान नसकिरहेको अवस्थामा एकाएक भाइरल भए पछि अहिले संघीय आयोजना कार्यान्वयन इकाई काश्किले निर्माण गरेको हो । भ्याट र कन्टिन्जेन्सी बाहेक कुल ९ करोड ८ लाख ९ हजार ९ सय ३३ बजेटमा निर्माण भएको उक्त बाटोको मन्त्री चौधरीले उद्घाटन गरेका हुन् ।


२०७५ साल श्रावण मा सम्झौता भइ २०७९ असार मा सम्पन्न गरिएको भनिए पनि बाटोको बिचबिचका केही भाग र डाडोमा पुग्ने बेलाको बाटो निर्माण एवम् पिच हुन बाँकी नै छ । बिरुवा रानिबन जे भि काठमाडौंले निर्माण गरेको उक्त मोटर मार्गको उद्घाटन गर्दै मन्त्री चौधरीले अधुरो रहेको योजना पनि पूरा गर्ने बताए ।


‘मानुङ पर्यटकीय ठाउँको रूपमा बिकास भइरहेको छ यो केही समय अगाडि भाइरल भएको थियो , तर हामी चाहन्छौं सधैं यो ठाउँ भाइरल भइरहोस ।’ तनहुँ वरिष्ठ नेता रामचन्द्र पौडेलको जिल्ला भएकोले पनि महत्वपूर्ण रहेको भन्दै मन्त्री चौधरीले उनीजस्ता ठूला नेताले हार्न नहुने बताए ।


मन्त्रीले उद्घाटन गरेको बाटोको उद्घाटन कार्यक्रममै उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर थापाले असन्तुष्टि जनाए । उनले उपभोक्ता समितिले समेत थाहा नपाउने गरि बाटो पूरा निर्माण हुननि नभ्याउँदै उद्घाटन गर्नुपर्ने कारण केहो भनी प्रश्न गरेका थिए ।


उनले जस्तै स्थानीय सोमप्रसाद थापाले पनि हामी उद्घाटन गर्ने कार्यक्रममा आएका त छौँ तर सम्पन्न नहुदै कसरी एकाएक उद्घाटन हुँदैछ भन्नेमा अनभिज्ञता रहेको बताए । उनीहरूको यहि प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले बाकी रहेको बाटो पूरा गर्न आवश्यक विनियोजन गर्ने आश्वासन दिए ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बाटो उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर थापा लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी