तनहुँ १ कांग्रेसको उम्मेदवार टुंग्याउन रस्साकस्सी, उम्मेदवार नघटे मतदानको तयारी

  • ख-
  • ख+

दमौलीः आकांक्षी बग्रेल्ती भए पछि तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गर्न क्षेत्रीय समितिमा सकस परेको छ । तनहुँ क्षेत्र नम्बर २ का दुवै समितिले आएका नाम जस्ताको तस्तै पठाए पनि क्षेत्र १ मा भने केन्द्रको परिपत्रअनुसार प्रत्यक्षतर्फ तीन जना र समानुपातिकमा एक पुरुष र एक महिलाको नाम सिफारिस गर्ने क्षेत्रीय समितिको तयारी छ ।

तर, सहमतिका लागि प्रयास गरिए पनि कोही पनि नाम फिर्ता लिन तयार नदेखिएपछि मतदानमार्फत नै भए पनि नाम टुंग्याउने तयारी गरिएको एक नेताले दमौली न्यूजलाई बताए । क्षेत्र २ बाट एक दिन अघि नै नाम सिफारिस भए पनि १ मा नाम घट्ने संकेत नदेखिएपछि आफूहरुलाई प्राप्त अधिकारको प्रयोग गर्ने क्षेत्रीय सभापति श्याम मौरतिले बताएका छन् ।

सहमति नभएमा मतदानमार्फत नै नाम टुंग्याउने तर अन्तिम समयसम्म प्रयास गर्ने प्रदेश क्षेत्रीय सभापतिहरुले बताएका छन् । तर, नाम ३ जनामा झार्न नै कठिन देखिएकाले अरु केही जिल्लामा जस्तो एकल नाम जाने सम्भावना भने तनहुँ १ मा देखिएको छैन ।

तर, पूर्व सभापति रघुनाथ पौडेलसहित केही सबै नाम पठाउनुपर्ने पक्षमा छन् । तर, निवर्तमान सभापति बैकुण्ठ न्यौपानेले सार्वजनिक रुपमा केही धारणा दिएका छैनन् । यसैबीच, पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल तथा केन्द्रीय सदस्य गोविन्द भट्टराई गृहजिल्लामा छन् । यसले पनि चुनावी रस्साकस्सी थप कडा बनेको छ ।


क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फका आकांक्षी कम भएकाले सहजै सिफारिस भएको थियो । तर, क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फमात्र ६ जनाले दावेदारी दिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य गोविन्द भट्टराई तथा शंकर भण्डारीसँगै संविधान सभासद रामचन्द्र पोखरेल, नेता शेषरमण न्यौपाने र शिवहरि धितालसम्मले प्रत्यक्षतर्फ दावेदारी दिएका छन् ।

यसैगरी, समानुपातिकतर्फ प्रदेशमन्त्री डोवाटे विकसँगै पाँच जनाको दावेदारी छ ।
प्रदेशका लागि दावेदारी दिने पनि अत्यधिक दावेदारी परेको छ । यसले पनि नेताहरुलाई नाम टुंग्याउन समस्या देखिए पछि मतदानको तयारी भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी