संस्थापक बदल्न माग गर्दै फोनिजको ज्ञापन

  • ख-
  • ख+

दमौलीः नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई स्थापित गराउन माग सहित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) तनहुँले नेपाल पत्रकार महासंघ तनहुँ शाखा मार्फत नेपाल पत्रकार महासंघलाई ज्ञापन पत्र र स्व.श्रेष्ठको तस्बिर बुझाएको छ ।

बिहिबार नेपाल पत्रकार महासंघ तनहुँ शाखाको कार्यलयमै पुगेर महासंघका अध्यक्ष उज्वल पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको प्रमाण हुँदा हुँदै कृष्ण प्रसाद भट्टराइ संस्थापक अध्यक्ष भनेको भन्दै यस्तो कदम प्रति विमति रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

२००८ साल वैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २००९ बैशाख २८ मा पुर्नगठन गरेको इतिहास रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ, तर २०१२ चैत्र १६ गते पुर्नगठन हुँदा कृष्णप्रसाद भट्टराई सभापति बनेका थिए । तथ्यहरुले सत्यनारायण बहादुर श्रेष्ठ संस्थापक सभापति पुष्टि भैसकेको अवस्थामा कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेको भन्दै २०१२ सालमा महासंघको नेतृत्व गर्ने स्व.भट्टराईप्रति अनादर वा अवमूल्यन गर्न नभई इतिहासलाई नबंग्याइ तथ्य स्थापित गर्नु रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

यता नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले ज्ञापन पत्र बुझ्दै संस्थापक अध्यक्षको विषयमा बहस र छलफल चलेको र पछी महासंघ केन्द्रको निर्णय अनुसार अघि बढ्नुपर्ने बताए । उनले तत्काल केन्द्रिय समितिमा ज्ञापन पत्र पठाउने समेत बताए ।

सो ज्ञापन पत्र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँका अध्यक्ष किरण श्रेष्ठसहितको जिल्ला समितिले संयुक्त रूपमा बुझाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्