तनहुँमा नियम उल्लंघन गर्ने ५५ हजार सवारी चालकलाई कारबाही

  • ख-
  • ख+

ट्राफिकद्वारा ३ करोड ७९ लाख राजश्व संकलन
विकास खनाल
दमौलीः
जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँले एक वर्षको अवधिमा तनहुँमा ५५ हजार ६ सय सवारी साधनलाई कारबाही गरेको छ ।

कारबाहीमा परेका सवारीसाधनबाट गत आर्थिक वर्ष २०७८÷०७९ मा ३ करोड ७९ लाख ३३ हजार राजश्व सङ्कलन भएको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ ।
कार्यालयले सडकमा गुड्ने ट्रक÷ट्रिपर, बस, माइक्रो बस, जीप, कार, ट्याक्टर, मोटरसाइकल, टेम्पो तथा अन्य सवारी साधनबाट हुने ट्राफिक कारबाहीबाट उक्त रकम संकलन गरेको हो ।

जिल्लाका सडकमा चल्ने सबै सवारी साधनमध्ये सबैभन्दा बढी ट्राफिक कारबाहीमा मोटरसाइकल परेका छन् र यसबाटै बढी राजश्व सङ्कलन भएको छ । यस्तै सबैभन्दा कम कारबाहीमा ट्याक्टर परेको छ ।

एक वर्षमा कार्यालयले २० हजार ६ सय ४५ मोटरसाइकललाई कारबाही गरेर १ करोड ४८ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ भने २ हजार ९ सय ८८ टयाक्टरलाई कारबाही गरेर २० लाख ४७ हजार ५ सय राजश्व संकलन गरेको कार्यालयले जनाएको छ । यसैगरी ११ हजार ३ सय ८७ ट्रक÷ टिपरलाई कारबाही गरी ७८ लाख २७ हजार, १२ हजार ४ सय ५ कार÷जीपलाई कारबाही गरी ७९ लाख ७९ हजार ५ सय र ७ हजार ५ सय १९ बसलाई कारबाही गरी ४८ लाख ५६ हजार राजस्व संकलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले सवारीसाधनको सङ्ख्या बढेसँगै ट्राफिक उल्लङ्घनको संख्या पनि वृद्धि हुने गरेको बताए । उनका अनुसार जिल्लाका सडकमा चल्ने सवारीसाधन मध्ये दुई चक्के सवारी साधनको सङ्ख्या बढी भएको र उल्लङ्घनका घटना पनि सोही प्रकृतिका सवारीसाधनबाट भएकोले औसत रुपमा अन्य सवारीसाधन भन्दा मोटरसाइकलको कारबाही संख्यासँगै राजश्व पनि बढेको हो ।

गत वर्ष एक करोड ३१ लाख २३ हजार ५ सय राजश्व संकलन गरेको कार्यलयले यश बर्ष धन्दै तेब्बर बढी राजश्व संकलन गरेको हो । ट्राफिक प्रमुख नेपालका अनुसार गत बर्ष जिल्ला भरिमा सवारी दुर्घटना एक सय भएको र त्यसबाट ४९ जनाको मृत्यु तथा ६४ जना गम्भीर र २५ जना सामान्य घाइते भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्