तनहुँमा संक्रमणको रेकर्डः व्यासमा १४ सहित एकै दिन २७ संक्रमित

  • ख-
  • ख+

दमौलीः तनहुँमा एकै दिन २७ जनामा कोरोना संक्रमण देखिएको छ । यो हालसम्मकै बढी भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

यस अघि भानुमा २१ जनामा एकै दिन संक्रमण भेटिएको थियो । आईतबारको रेकर्डले संक्रमितमा चिकित्सक, यातायात कर्मचारी, बैंक स्टाफदेखि विदेशबाट फर्केकासम्म देखाएको छ । जिल्लाका पाँच तहमा आईतबार संक्रमण भेटिएको छ ।

व्यास नगरपालिका
व्यास नगरपालिकामा सबैभन्दा धेरै संक्रमित १४ जना आईतबार भेटिए । दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट र सहयोगी, प्रभु बैंकका कर्मचारी, व्यासभूमि यातायात कम्पनीका कर्मचारीसँगै विदेशबाट फर्केर होम आईसोलेसनमा बसेका व्यक्तिसम्ममा संक्रमण भेटियो । अब उनीहरुको सम्पर्कका आधारमा धेरै व्यक्तिमा कन्ट्याक्ट ट्रेसिङ हुने देखिएको छ ।

दमौली अस्पतालले सबै स्टाफको नमूना लिने बताएको छ । प्रभु बैंकले सरसफाईका लागि बन्द गरेको भनेको छ । बैंकले पनि एक साता देखि बिदामा रहेका भनिएका कर्मचारीको सम्पर्कका स्टाफको पनि स्वाब संकलनको तयारी गरेको छ ।

शुक्लागण्डकी नगरपालिका
शुक्लागण्डकीको जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रका चिकित्सकसहित पाँच कर्मचारीमा संक्रमण देखियो । यसका अलावा कन्ट्याक्ट ट्रेसिङका आधारमा अरु दुईमा संक्रमण पुष्टि भयो ।

देवघाट, बन्दीपुर र आँबु गाउँपालिका
चितवन मेडिकल कलेजमा गरिएको परीक्षणका क्रममा देवघाटका १ जनामा संक्रमण देखियो । यसैगरी पोखरामा गरिएको परीक्षणमा बन्दीपुरका २ र आँबुका १ मा संक्रमण भेटियो । उनीहरुमध्ये अधिकांश कन्ट्याक्ट ट्रेसका क्रममा भेटिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्