दमौलीका फेन्सी पसलेले खरिद बिल देखाउनै सकेनन्

  • ख-
  • ख+

दमौली: दमौलीका फेन्सी पसलेले कपडाको खरिद बिल देखाउन नसकेको पाइएको छ । उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा बजारका फेन्सी पसलेले सामानको खरिद बिल देखाउन नसकेका हुन् । देखाएका केही पसलेले पनि पुरानो बिल मात्र देखाएका थिए ।


विभागका निर्देशक शिवराज सेंढाई नेतृत्वको टोलीले गरेको बजार अनुगमनका क्रममा गएका कुनै पनि पसलेले बिल नदेखाए पछि टोली पनि आश्चर्यमा परेको छ । टोलीले नमूनाका रुपमा बजारका ३ वटा त्यस्ता पसलको अनुमगन गरेको थियो । ‘नयाँ बिल नै देखाउन नसकेकाले एक पटकका लागि सचेत गराइएको छ,’ टोलीमा सहभागी जिल्ला प्रशासन कार्यालय तनहुँका ओमकार पौडेलले भने ।


‘बेच्ने भन्दा किन्ने मूल्य बढी’
टोलीलाई पसलेले आफूहरुले किनेको भन्दा कम मूल्यको बिल मात्र पाउने गरेकाले सो मूल्यमा बेच्न नसकिने बताए । ‘हामीले किनेको भन्दा कम मूल्यको मात्र बिल हुन्छ,’ एक व्यापारीले भने,‘अनि बढी मूल्यमा किनेर कम मूल्यमा बेच्न सकिंदैन ।’


खरिदको नयाँ बिल देखाउन नसकेका सबै फेन्सी पसलेले आफूहरुको समस्या यही भएको दाबी गरेका थिए । ‘हामीले एक पटकका लागि सचेत गराएका छौं,’ पौडेलले भने,‘फेरि यस्तै समस्या दोहोरिएमा कारबाही गर्ने गरी सचेत गराएर छाडेका छौं ।’ टोलीमा व्यास नगरपालिका र उपभोक्ता अधिकारवादीको पनि सहभागीता थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी