
दमौलीः प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको विकासमा सरकारको साथ रहने प्रतिवद्धता जनाएका छन् । गाउँपालिकाको विकासे योजनामा संघ सरकारको साथ खोज्दै आएका गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा तथा उपाध्यक्ष पञ्चमाया गुरुंग नेतृत्वको टोलीलाई भेट्दै देउवाले नपुगेको ठाउँमा संघ सरकारको साथ रहने विश्वास दिलाए ।
टोलीलाई साथ दिन पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलले बन्दीपुर पर्यटकीय हिसाबले धेरै सम्भावना बोकेको ठाउँ भएको भन्दै तर समग्र बन्दीपुर क्षेत्रको विकासमा अझै पर्याप्त काम हुन नसकेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । आफू पनि लागिरहेको भन्दै उनले प्रधानमन्त्रीबाट साथ खोजेको बताए ।
गाउँपालिका अध्यक्ष थापाले बुद्धसिं मार्गसँग जोड्ने सडकका लागि संघ सरकारबाट एक करोड परेको भन्दै थप बजेटका लागि पनि उनले संघ सरकारको साथ खोजेको बताए । गाउँपालिका उपाध्यक्ष पञ्चमायाले गाउँपालिकाका केही भाग अझै पनि घण्टौं हिंड्नुपर्ने अवस्थामा रहेको भन्दै नेपालकै लामो झोलुंगे पुल आवश्यक रहेकाले साथ खोजिएको बताइन् ।

भेटको सहजीकरण गरेका कांग्रेस नेता रेशम गुरुंगले राणाशासनदेखि नै ऐतिहासिक थलोका रुपमा रहेको बन्दीपुरको विकासमा संघ सरकारको साथ रहे अझ धेरै पर्यटकीय पूर्वाधार बन्ने बताए । बन्दीपुरका पर्यटन अगुवा बैस गुरुंगले बन्दीपुरको समग्र विकासमा स्थानीय सरकार र संघको साथ मिलेमा अझ प्रगति हुने बताए ।

नेता इमनाथ खनालले बन्दीपुरको विकासमा साथ भएमा धेरैका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिने बताए ।
भेटका क्रममा गाउँपालिकाले प्रधानमन्त्रीलाई बन्दीपुर भ्रमणको निम्तो समेत दिएको छ ।
टोलीले प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारलाई समेत भेटेर बन्दीपुरको विकास प्रक्रियामा साथ खोजेको छ ।