गण्डकी आर्थिक बहसः गण्डकीलाई समृद्ध बनाउने सपनामा निजी क्षेत्रको साथ खोजेका छौं–मुख्यमन्त्री

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई समृद्ध बनाउने सपना पूरा गर्न निजी क्षेत्रको साथ अपेक्षा गरेको बताएका छन् । पोखरामा शनिबार आयोजित गण्डकी प्रदेशको समृद्धिः सम्भावना र चुनौती विषयक गण्डकी आर्थिक बहस कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले खबरदारी र रचनात्मक सहयोग गर्ने हो भने सपना पूरा गर्न सकिने बताए ।

‘गण्डकीलाई समृद्ध बनाउने हाम्रो सपना हो,’उनले भने, ‘त्यो सपना पूरा गर्न प्रदेश सरकारले सामथ्र्य, क्षमता र हैसियत हेरेर निजीलगायत सबै क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्ने जमर्को गरिरहेको छ ।’
गण्डकीले जलविद्युतबाट मात्र पनि धेरै प्रगति गर्न सक्ने तर्क गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘कालिगण्डकी करिडोरमा एउटा मात्र टावर बन्यो भने रातको समयको सबै बिजुली भारत बेच्न सकिन्छ । जलविद्युतमा अरु धेरै अवसर छ ।’

प्रदेशभित्रका विगतको महामारीबाट अर्थतन्त्र तहसनहस हुँदा निजी क्षेत्र अघि बढ्दा प्रदेश सरकार समन्वय र सहजीकरण गर्न तत्पर रहेको भन्दै मुख्यमन्त्रीले रचनात्मक रुपमा साथ दिएमा निजी क्षेत्र र सरकार अघि बढेर प्रदेशलाई समृद्ध बनाउन सकिने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्लेले नीतिगत रुपमा समसया परेका क्षेत्रका समस्या समाधानमा प्रदेश सरकार तयार रहेको भन्दै प्रदेश सरकार अड्चन परेका क्षेत्रमा छलफल गर्न तयार रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले प्रदेशमा पर्याप्त काम हुन नसकेको भन्दै तीन तहका सरकारबीच समझदारी नहुँदा निजी क्षेत्रले प्रदेशबाट पर्याप्त लाभ लिन नसकेको बताए ।

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का गण्डकी अध्यक्ष जगत पोखरेलले गण्डकीमा जलविद्युतमा आधारित अर्थतन्त्र बलियो बन्न सक्ने भन्दै प्रदेशले यसमा भूमिका खेल्न सकिने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले अनावश्यक राजनीतिक हस्तक्षेपले पर्यटन क्षेत्रमा असर पारेको बताए । विदेशमा पर्यटन खुले पनि नेपालमा अझै सहजन नभएको भन्दै सरकारले बनाएको प्रोटोकलका कारण पर्यटकलाई आउन समस्या भएको उनले बताए । पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारसंग मिलेर काम गर्न तयार रहेको उनले बताए ।

कार्यक्रमको सहजिकरण पत्रकार वासुदेव मिश्रले गरेका थिए । वेदव्यास क्रियशन तथा आर्थिक आवाज मिडियाको आयोजनामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ र पोखरा पर्यटन परिषद्को सहकार्य थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी