ऋषिङको महत्वाकांक्षी बजेट ४९ करोड ः एक वडा एक उत्पादन, एक घर एक रोजगारी

  • ख-
  • ख+

ऋषिङ : ऋषिङ गाउँपालिकाले ४९ करोड बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको गणतन्त्र स्थापनापछिको १२ औं गाउँ सभामा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।


ऋषिङ समृद्धिको आधार कृषि, पर्यटन र पूर्वाधार नारा अंगाल्दै गाउँपालिकाले बजेट प्रस्तुत गरेको प्रवक्ता विजय दरैले जानकारी दिए । यातायात पूर्वाधारमा विशेष जोड दिंदै गाउँपालिकाको केन्द्र जोड्ने श्रृंगपथ, झापुटार, काहुँ चालिसे मोटर मार्गलाई कालोपत्रे गर्दै दुबुंगसम्म पुर्याउने लक्ष्य राखेको छ ।


यसैगरी गाउँपालिकाभित्रका ढुंगाडे रुपटार, ग्वास्लुंग, लगायतका मोटरमार्गलाई स्तरोन्नतीका अलावा कालोपत्रे गर्न संघ सरकार तथा प्रदेश सरकारसँग साझेदारी गर्ने नीति गाउँपालिकाले लिएको छ ।
सडक निर्माणका क्रममा जोखिम कम गर्न पहिरो जोखिमका क्षेत्रमा बायो इन्जिनियरिंग गर्ने नीति गाउँपालिकाले लिएको छ ।

एक वडा एक उत्पादन, एक घर एक रोजगारी काठे पोल विस्थापन
गाउँपालिकाले एक वडा एक उत्पादन तथा एक घर एक रोजगारी नीति लिएको छ । जसका लागि आवश्यक बजेटको व्यवस्था समेत लिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाले प्रदेशको समन्वयमा गाउँपालिका भित्रका काठे पोललाई विस्थापन गरी विद्युत आपूर्ति गर्ने लक्ष्य लिएको छ ।
बाढी पहिरो जोखिममा रहेकाको स्थानान्तरणमा अनुदान
गाउँपालिकाले बाढी पहिरोको जोखिममा रहेका क्षेत्रका घरको पहिचान गर्दै स्थानान्तरणका लागि अनुदान उपलब्ध गराउने घोषणा नीति तथा कार्यक्रममार्फत गरेको छ ।


कृषिमा प्राथमिकता
गाउँपालिकाको नीति तथा कार्यक्रमले बाँझो जमिनलाई उपयोग गरी उत्पादकत्व बढाउन सामूहिक तथा सहकारीमार्फत कादो र मकैको पकेट एरिया बनाउने लक्ष्य लिएको छ । यसैगरी, कृषिबालीको पकेट क्षेत्र तथा सुन्तला र बाख्राको समेत पकेट क्षेत्र बनाएर फलफूल र खाद्य निर्यात गर्ने लक्ष्य लिएको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

संस्कृति
गाउँपालिकाको नीति तथा कार्यक्रमले सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने नीति लिएको छ । यसैगरी, स्थानीय मगर, नेवार, गुरुङ, दरै, कुमाल लगायत जातिका भेषभुषा, नृत्य तथा परम्पराको संरक्षणमा पनि गाउँपालिकाले जोड दिएको छ ।
गाउँपालिकाले होमस्टे स्थापना तथा सञ्चालितको स्तरोन्नतिका लागि सघाउने नीति पनि लिएको छ ।


बजेट सार्वजनिकका लागि आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विकले गाउँपालिकाले विकासका क्षेत्रमा फड्को मारिरहेको भन्दै प्रदेश सरकार सघाउन तत्पर रहेको बताए ।
तनहुँको दक्षिणी क्षेत्र पछि परेको भए पनि गाउँपालिकाले विकासमा गति लिएको उनले बताए ।

बजेट, नीति तथा कार्यक्रम प्रस्तुत समारोहमा कांग्रेस नेता मोहन गिरी, गाउँपालिका उपाध्यक्ष गिनुमाया थापा, प्रवक्ता विजय दरै, प्रमुख प्रशासकिय अधिकृत टिकाबहादुर गोदारलगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्