गण्डकी प्रदेशको आर्थिक सम्भावना र चुनौतीबारे पोखरामा बहस हुँदै

  • ख-
  • ख+

पोखरा : गण्डकी प्रदेशको आर्थिक सम्भावना, त्यसलक्षित प्रदेश सरकारका कार्यक्रम तथा कार्यान्वयनमा देखिएका चुनौतीका विषयमा शनिबार पोखरामा बहस हुने भएको छ । वेदव्यास क्रियशन र आर्थिक आवाजले प्रदेशका नीति निर्माता तथा आर्थिक क्षेत्रका सरोकारवालाहरुसँग आर्थिक बहस चलाउन लागेको हो ।


समृद्ध गण्डकी प्रदेशःसम्भावना र चुनौती विषयमा हुन लागेको बहसमा पोखरा उद्योग वाणिज्य संघ तथा पोखरा पर्यटन परिषदको सहकार्य रहनेछ । शनिबार बिहान साढे ८ बजे पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा हुने बहसको प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नेछन् ।

प्रदेशको नीति तथा कार्यक्रम र बजेट आएसँगै कतिपय विगतका कार्यक्रमसमेत प्रभावकारी कार्यान्वयन हुन नसकिरहेको गुनासो आइरहेका बेला नीति निर्माण तथा कार्यान्वयनमा सक्रिय निकायसँगै यससँग जोडिएका व्यवसायी र आर्थिक क्षेत्रबीच छलफल गराइ प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउन कार्यक्रम गर्न लागिएको आयोजकले बताएको छ । कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि समेत निर्माण र लाभग्राही पक्षलाई एकै ठाउँमा राखेर बहस चलाउन लागिएको आयोजकको भनाइ छ ।

प्रत्यक्ष प्रशारण गरिने बहस कार्यक्रममा प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, इप्पान गण्डकीका अध्यक्ष एवं नेपाल जेसिजका पूर्व अध्यक्ष जगत पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी तथा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराई प्यानलिष्टका रुपमा सहभागी हुनेछन् । सहभागीले समेत जिज्ञासा राख्न पाउने गरी कार्यक्रम गरिने कार्यक्रमको सहयोगी पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्