गण्डकीको बजेट करिब ३६ अर्ब

  • ख-
  • ख+

पोखराः गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशसभा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले कुल बजेटमध्ये चालुखर्च १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार अर्थात् ३६.९५ प्रतिशत विनियोजन गरिएको छ ।

त्यस्तै, पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री बरालले जानकारी दिए । पुँजीगततर्फ सरकारले ६१.६६ प्रतिशत बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षमा सञ्चित कोषमाथि १ करोड ८८ लाख रुपैयाँ व्ययभार पर्ने अनुमान गरिएको छ । सरकारले ल्याएको बजेटमध्ये संघ सरकारले दिएको वित्तीय समानीकरण अनुदान ७ अर्ब ९२ करोड ७९ लाख, राजस्व बाँडफाँट ९ अर्ब २३ करोड, ससर्त ६ अर्ब ९१ करोड ८३ लाख, समपूरक अनुदान ८३ करोड ७० लाख र विशेष अनुदान ८६ करोड समावेश गरिएको छ ।

सरकारले आन्तरिक राजस्व ५ अर्ब ९ करोड उठाउने लक्ष्य लिएको छ । रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख प्राप्त हुने अनुमान गरेको छ ।

चालु आर्थिक वर्षमा २ अर्ब ७१ करोड नगद मौज्दात बाँकी रहने र अपुग २ अर्ब ऋण लिइने बरालको योजना छ । आगामी आर्थिक वर्षमा सरकारले १ अर्ब आन्तरिक ऋण र १ अर्ब नेपाल सरकारबाट ऋण लिइने मन्त्री बरालले जानकारी दिए ।
गण्डकी सरकारले प्रदेशभित्रका ८५ पालिकालाई करिब ४ अर्ब बजेट विनियोजन गरेको छ । सरकारले विभिन्न शीर्षकका अनुदानमा २ अर्ब ११ करोड छुट्याएको छ ।

खर्चको आवश्यकता, मानव विकास सूचकाङ्कको अवस्थाका आधारमा १ अर्ब १६ करोड वित्तीय समानिकरण शीर्षकमा बजेट विनियोजन भएको छ ।

यस्तै, समपूरक ५० करोड ७० लाख, सशर्त १८ करोड १० लाख, विशेषमा २६ करोड ३० लाख विनियोजन गरेको बरालले बताए । सवारी साधन करबाट ७२ करोड राजश्व हस्तान्तरण गर्ने उनको भनाई छ ।

संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कृषि उत्पादन कार्यक्रम कार्यान्वयन गर्न ५० करोड छुट्याएको छ भने प्रदेश र स्थानीय तहको साझेदारीमा सञ्चालन हुने कार्यक्रमका लागि ५० करोड र स्थानीय तहको प्रशासनिक भवन निर्माणका लागि १५ करोड विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि ३० अर्बको बजेट प्रस्तुत गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी