कतार एयरवेजको आकर्षक जागिर छाडेर पशुपालन

  • ख-
  • ख+

विकास खनाल
म्याग्देः
अहिले धेरै युवाको सपना विदेश जाने छ । देशमा पर्याप्त रोजगारीका अवसर नहुनु अनि पर्याप्त तलब पनि नपाउने गरेको गुनासो युवाको छ । अनि आफैं केही गर्नका लागि पनि वातावरण उपयुक्त नभएको गुनासो युवाले गर्ने गरेका छन् ।

तर कतिपय युवा भने वैदेशिक रोजगारी छाडेर गाउँमै मनग्गे कमाइ गरिरहेका छन् । म्याग्देका एक युवाले भने धेरैका लागि आकर्षक लाग्ने कतार एयरवेजको आकर्षक जागिर नै छाडेर गाउँमा कृषिकर्म थालेका छन् ।

कतार एयरवेजमा काम गरेका म्याग्दे २ का युवा अमित रानाभाट जागिर छाडेर गाउँमा कृषि कर्ममा तल्लिन छन् । उनले लगातार १४ वर्ष कतार एयरवेजमा काम गरे ।

तर गाउँमै केही गरौँ भन्ने सोचले उनी अहिले घरै फर्केर कृषि तथा पशुपालनमा रमाएका छन् ।
मेरो मासिक तलब एक लाख बढी थियो । कम्पनीले सबै सुविधा दिएको थियो । तर पनि घरमा परिवारसँगै बसेर काम गर्ने सोच आयो । अनि कृषि पेशा अँगालें, रानाभाट भन्छन् ।

उनले म्याग्दे २ स्थित निर्मल बस्तीमा तीन रोपनी जग्गामा गोलभेंडा, काँक्रो, करेला, घिरौंला, लौकालगायतका खेती गरेका छन् । यस्तै रानाभाटले भैंसी, लोकल कुखुरा, बाख्रा पालन समेत गरेका छन् ।

रानाभाटले थान्सिङ गाउँमा सुन्तला र कागती खेती समेत थालेका छन् । तरकारी , फलफूल र भैंसी , कुखुरा तथा बाख्रा पालनबाट मासिक ५० हजार कमाइ हुने गरेको अमितले बताए ।

विदेशमा एक्लै बसेर लाख कमाउनु भन्दा घरमै परिवारसँग बसेर ५० हजार कमाउँदा आनन्द भएको अमितको भनाइ छ । अहिले सबै परिवार पनि खुशी भएको र यो आम्दानी अझै बढाउँदै लाने अमितले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्