
देवघाटः देवघाट गाउँपालिकाको मतगणना परिणामले २०७४ सालको नतिजा उल्टाएको छ । गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार तिलबहादुर थापा चार हजार तीन सय छ मत पाएर अध्यक्षमा निर्वाचित भएका छन् ।
उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिं गुरुङ निर्वाचित भए । अध्यक्षमा निर्वाचित तिलबहादुरसँग पराजित निवर्तमान अध्यक्ष दुर्गबहादुर थापाले तीन हजार चार सय ८३ मत पाए । करिब एक हजार अन्तरले जित दर्ता गरेर कांग्रेसले यस अघिको हारको बदला लिएको छ ।
उपाध्यक्षमा पराजित एमाले उम्मेदवार सावित्री न्यौपानेले तीन हजार चार सय ६७ मत पाइन् । विजयी गुरुङले तीन हजार सात सय २१ मत पाएका छन् ।
गएको चुनावमा एमाले अध्यक्ष र कांग्रेस उपाध्यक्षमा विजयी भएका थिए । सत्तारुढ गठबन्धनको फाइदा लिएका कांग्रेस माओवादीले जित दर्ता गर्न सहजता प्राप्त भएको देखिएको छ ।