
म्याग्दे: स्थानीय तहको निर्वाचन प्रक्रिया अन्तर्गत म्याग्दे गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । म्याग्देको मुल प्रशासनिक केन्द्रमा कार्यालयको साइनबोर्ड राखी निर्वाचन कार्यालयको उद्घाटन गरिएको हो ।
कार्यालयको उद्घाटन गर्दै निर्वाचन अधिकृत नवराज आचार्यले निर्वाचन आयोगले तयार पारेको आचार संहिता सबै राजनीतिक दल , कर्मचारीले कडाइका साथ पालना गर्नुपर्ने बताए ।
स्वच्छ , धाधलीरहित र निष्पक्ष चुनाव गराउनुनैँ आँफुहरूको जिम्मेवारी भएको आचार्यले बताए ।
म्याग्देमा २० वटा मतदान केन्द्र र ९ वटा स्थल रहने म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । निर्वाचन अवधिभर सबै कर्मचारी स्टेन्डवाइ रहनुपर्ने अधिकारीले बताए ।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले निर्वाचन अधिकृत आचार्यलाइ म्याग्देमा स्वागत गर्दै ५ बर्षे कार्यकालमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिइन् ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि हरूले मतदान केन्द्रमा सीसी क्यामेरा राख्नुपर्ने बताएका थिए । निर्वाचनमा नेपाली सेना , शशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन हुने प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताए ।
उद्घाटनमा नेपाल प्रहरी , स्थानीय राजनीतिक दलका प्रमुखहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । आज तनहुँको १० वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना भएको जिल्ला निर्वाचन कार्यालय तनहुँ प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।