
दमौलीः सबै दलले भएभरका तहमा दावी गरे पछि तनहुँमा स्थानीय तहको चुनावी गठबन्धनका लागि लक्षित बैठक अनिश्चितकालका लागि स्थगित भएको नेपाली कांग्रेसले बताएको छ ।
जिल्लामा क्रियाशिल माओवादी केन्द्र, एकिकृत समाजवादी तथा जनता समाजवादी दलका नेता सहभागी बैठकमा उपलब्ध सबै सिटमा गठबन्धनका साझेदारले सिट मागे पछि कांग्रेसले पनि पहिले जितेका सिटका अलावा भिमाद, देवघाट र बन्दीपुरको नेतृत्व पाउनुपर्ने दावी अघि सार्यो । यसले गठबन्धनमा सहमति हुने अवस्था नआएकाले तत्कालका लागि गठबन्धन बैठक स्थगित गरिएको सहभागी कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनालले बताए ।
‘हामीले जितेका तहमा पनि सबै दलबाट दावेदारी आए पछि सहमति गर्ने बाटो नै भएन,’ उनले दमौली न्यूजसँग भने, ‘त्यसैले थप गृहकार्यका लागि बैठक स्थगित गरेका छौं ।’
धेरै ठाउँमा माओवादी दावी
बैठकमा माओवादी केन्द्रले अहिले नेतृत्वमा रहेको बन्दीपुरका अलावा आँबुखैरेनी, शुक्ला र घिरिङमा प्रमुख पद मागेको छ । यसैगरी, ऋषिङ, देवघाट र व्यासमा माओवादीले उप प्रमुख माग गरेको छ ।
समाजवादीले माग्यो तीन प्रमुख
बैठकमा एकिकृत समाजवादी दलका तर्फबाट बटम लाइनका रुपमा प्रस्तुत गरिएको दावेदारीमा भीमाद, शुक्ला र भानुको प्रमुख अनि व्यास, ऋषिङ,घिरिङ अनि देवघाटमा उप प्रमुख माग गरिएको छ ।
जसपाद्वारा सबै तहमा अस्तित्व माग
पहिलो पटक स्थानीय निर्वाचनमा उत्रिएको जसपाले देवघाट प्रमुख र सबैमा अस्तित्व हुने गरी माग गरेको छ ।
विगतमा धेरै तह जितेको र वाम घटक फुटेको अवस्थामा धेरै सिट जित्नेमा हौसिएको कांग्रेसले धेरै सिट छाड्नुपर्ने अवस्था आए पछि अरु दल लचक भए पछि मात्र बैठकमा बस्ने नीति बनाएको बुझिएको छ ।
File photo