शुक्लागण्डकी महोत्सव खैरेनीमा शुरु, चर्चित कलाकारको प्रस्तुति

  • ख-
  • ख+

खैरेनीटारः लामो समयको विवाद र अन्यौल चिर्दै तनहुँको शुक्लागण्डकी खैरेनीटारमा शुक्लागण्डकी महोत्सव शुरु भएको छ । आगामी वैशाख ५ गतेसम्म चल्ने महोत्सवको प्रतिनिधि सभा सदस्य केदार सिग्देलले उद्घाटन गरे । अर्थतन्त्र गिर्दो अवस्थामा रहेको भन्दै उनले यसलाई सुदृढ गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने औंल्याए ।

गण्डकी प्रदेश सभासद आशा कोईरालाले उद्देश्यअनुसार काम गरेर महोत्सव सफल पार्न आयोजकलाई सुझाव दिइन् ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका उपप्रमुख सविता रसाईली, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, नेपाली कांग्रेस तनहुँ जिल्ला सभापति जीतप्रकाश आले, नेकपा एमाले तनहुँ जिल्ला कमिटी उपसचिव खिमबहादुर कुमाल, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य बाबुराम गिरी, नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य चित्र थापा, तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णराज पण्डित, शुक्लागण्डकी नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष कृष्णबहादुर पौडेल, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पबिन्द्रकुमार श्रेष्ठ, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, महोत्सवका निर्देशक समुन्द्रराम श्रेष्ठ, सहनिर्देशक सुजित हिराचन लगायतले बोलेका थिए ।

महोत्सवमा परिसरमा बिभिन्न जातजाति, समुहहरुको झाँकी मिलडाँडा देखि खैरेनीटार बजार परिक्रमा गरेर प्रवेश गरेका थिए । महोत्सवमा १५० ओटा स्टल रहेको छ भने विभिन्न रमाईलो मेलाहरु रहेका छन् ।

महोत्सवको बारेमा प्रकाश पार्दै महोत्सवका निर्देशक समुन्द्रराम श्रेष्ठले शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र शुक्लागण्डकी उद्योग वाणिज्य संघ एक भएर शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ भएपछिको यो पहिलो महोत्सव भएको र महोत्सवले अपेक्षित सफलता हासिल गर्ने जनाए । यस्तै निर्देशक श्रेष्ठले महोत्सव व्यक्तिगत नभई सामाजिक स्वार्थमा केन्द्रीत रहने वताए ।

महोत्सवका प्रवक्ता हरिबहादुर थापाले चैत २५ गते गायक पशुपति शर्मा, शोभा त्रिपाठी, सृष्टि रम्तेल र डान्सर नुमा थापा मगर लगायतको प्रस्तुति रहने बताए ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष बिमलप्रसाद रिमालको अध्यक्षता रहेको कार्यक्रममा महोत्सवका प्रवक्ता हरिबहादुर थापा, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका महासचिव उपेन्द्र तिम्सिनालगायतले बोलेका थिए ।

शुक्लागण्डकीमा उस्तै नामका दुई उद्योग वाणिज्य संघ र एकै समयमा फरक फरक महोत्सव आयोजना भएको थियो । तर चर्को आलोचनापछि व्यवसायी जगत एकिकृत संस्था गठन गर्दै एकै मितिमा महोत्सव गर्न सहमत भएसँगै शुक्लागण्डकी उद्योग वाणिज्य संघको विवाद किनारासमेत लागेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्