
दमौलीः व्यास नगरपालिकाले दक्षिण कोरियाको संग्चु नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले यसका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
बैठकले व्यास नगरपालिकाबाट तय भएका कुल १२६१ योजनाहरुमा ६७९ सम्पन्न भएको जानकारी दिएको छ । यसमध्ये ४८४ सम्झौता भएका छन् । हालसम्म ४८ प्रतिशत बजेट खर्च भएको तथा संघीय सरकारबाट विनियोजित बजेट ८४% , प्रदेश सरकारबाट विनियोजित ४५%, राजश्व बाँडफाड ४८%, आन्तरिक श्रोत बाट ४६% आम्दानी प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
बैठकले आगामी वर्षबाट एक लाख रुपैयाँभन्दा बढीको भुक्तानि विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन आर्थिक प्रशासन शाखालाई जिम्मा दिने निर्णय गरेको छ ।
यसैगरी, नगरपालिकाले ३० औं स्थापना दिवसको तयारीको समीक्षा गर्दै जनप्रतिनिधिहरुलाई निम्ता गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले साँस्कृतिक, साहित्यिक, एतिहासिक स्मारक संरक्षणका लागि व्यास नगर प्राज्ञिक सभा गठन गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी, वैशाख ३० को निर्वाचन सम्पन्न नहुदाँ सम्म आचार संहिता लागु भएको अवधिभर विपन्नको उपचार र विपद् क्षेत्र बाहेकका विकास योजनाहरुमा नयाँ कार्यक्रम सिफारिस÷स्वीकृत नगर्ने निर्णय पनि बैठकले गरेको नगरपालिकाले जनाएको छ ।