स्थानीय तह निर्वाचन : कुन तहमा कुन दलले पाउने २७ गते निर्णय हुने

  • ख-
  • ख+

दमौलीः स्थानीय तह निर्वाचनअन्र्तगत तनहुँमा जिल्लाभर सत्तारुढ गठबन्धनबीच सहकार्यको सहमति भएसँगै कुन तहमा कसले दावेदारी गर्ने भन्ने प्रश्न पेचिलो बनेको छ ।

कांग्रेससँगै सत्तारुढ दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले मिलेर जाने सोमबार सहमति गरे पनि तहबारे भने निर्णय भएको छैन ।

प्रमुख सत्तारुढ घटक कांग्रेसले स्थानीय आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएसँगै अब कसले कुन तह पाउने भन्ने अड्कलबाजी दमौलीका चियापसलमा हुन थालिसकेका छन् ।

खासगरी कांग्रेस र माओवादी केन्द्र प्रखररुपमा उम्मेदवारको नामबारे छलफल प्रक्रियामा अघि बढिरहेका बेला गरिएको निर्णयले ती दलमा समेत आशंका पैदा गराएको छ । सोमबारको बैठकमा गठबन्धन गर्ने निर्णय भए पनि कुन दलले कुन तह पाउने भन्ने विषयले प्रवेश नपाएको एकिकृत समाजवादीका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यसबारे आगामी चैत्र २७ गते बस्ने बैठकले कुन पालिकामा कुन पद कसलाई दिने टुंगो लगाउनेछ । उनका अनुसार प्रभाव बढी भएका दललाई सो ठाउँमा प्रमुख पद दिए पनि वडाहरुमा भने सबै तहमा गठबन्धनका चारै दलबीच टिकट वितरण गर्ने सहमति भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्