म्याग्देले ल्याण्डफिल साइटका लागि २२ रोपनी जग्गा अधिग्रहण गर्यो

  • ख-
  • ख+

विकास खनाल
म्याग्देः
म्याग्दे गाउँपालिकाले फोहोर व्यवस्थापनका लागि २२ रोपनी १३ आना जग्गा अधिग्रहण गरेको छ । सबै प्रक्रिया पूरा गरि आवश्यक मुआब्जा दिएर शुक्रबार जिल्ला मालपोत कार्यालय तनहुँबाट गाउँपालिकाको नाममा जग्गा पास आएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

साविक जामुने गाविस र हाल म्याग्दे गाउँपालिका वडामा नँ २ स्थित बहपुर भन्ने ठाउँमा दीर्घकालीन रुपमा फोहोरमैला व्यवस्थापन गर्नको लागि ९ जना व्यक्तिको नाउँमा रहेको जग्गाको मुआब्जा दिइ अधिग्रहण गरिएको गाउँपालिकाका अमिन शेषराज पण्डितले बताए । ‘लामो समयदेखिको प्रयास र मेहनत सफल भएको छ, आज पुर्जा हात पर्याे ‘ भन्दै जिल्ला मालपोत कार्यलयमा प्रफुल्ल मुद्रामा देखिएका पण्डितले भने अब अन्य काम अगाडि बढाउन बाटो खुलेको छ ।

ल्याण्डफिल साइडको लागि संघीय सरकारबाट २ करोड २४ लाख बजेट समेत बिनियोजन भैसकेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अधिकारीले जानकारी दिए । जग्गा गाउँपालिकाको नाममा ल्याउने प्रक्रिया झन्झटिलो भए पनि निरन्तर लागिपरेकाले सफल भयौं भन्दै अधिकारीले सबैलाई चित्त बुझाउन तथा भोलि कुनै अप्ठ्यारो नआओस भन्न पनि गाउँपालिकाले ३५ दिने सुचना निकालेर यो काम अगाडि बढाएको बताए ।

जग्गा प्राप्त भयो अब ल्याण्डफिलको काम अगाडि बढ्छ अधिकारीले भने । फोहोर व्यवस्थापन स्थल डम्पिङ साइडको निर्माण पश्चात् गाउँपालिकालाइ पचासौं वर्ष ढुक्क हुने गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताइन् ।

बहपुर सुन्तला खेतीको लागि जोन क्षेत्र भएकोले कुहिने वस्तुलाई प्रांगारिक मल प्रयोग गर्ने उद्देश्य गाउँपालिकाको रहेको छ , त्यसले पनि किसानलाई फाइदा पुर्याउँछ , रानाले भनिन् । हालसम्म सबै वडाले वडागत रुपमा फोहोर व्यवस्थापन गर्दै आएपनि व्यवस्थित रुपमा फोहोर व्यवस्थापन स्थल व्यवस्था गर्न सकिरहेको थिएन ।

नकुहिने वस्तुलाई प्रशोधन गरी फोहोरलाई मोहरमा परिणत गर्ने योजना रहेको गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । साथै त्यस क्षेत्रमा रहेका बस्तीका मानिसहरुलाई समेत रोजगारको व्यवस्था मिलाइने उद्देश्य राखिएको उपाध्यक्ष घिमिरेले बताए । अहिले म्याग्दे गाउँपालिका बाट दैनिक रूपमा ४ टन भन्दा बढी फोहोर निस्कने गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्