
दमौलीः प्रधानमन्त्री शेरबहादुर देउवा तनहुँ आईपुगेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन आएका देउवाले मुख्यगरी तनहुँ महोत्सव र ऋषिङ गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दैछन् ।
प्रधानमन्त्री देउवाले शुरुमा तनहुँ जलविद्युत आयोजनाको अवलोकन गरेर त्यहाँ आवश्यक निर्देशन दिने कार्यक्रम छ । त्यसक्रममा उनले आयोजनाको सञ्चालक संस्था तनहुँ हाइड्रोपावरका प्रवन्ध सञ्चालक किरणकुमार श्रेष्ठसहित अधिकारीलाई निर्देशन दिने कार्यक्रम छ । आयोजना समयमै सम्पन्न गराउन सरकारबाट आवश्यक वातावरण तयार पार्ने तर काममा ढिलाई हुन नदिन प्रधानमन्त्रीले चासो राखेका छन् ।
त्यसलगत्तै मध्याह्न पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले आसन्न स्थानीय चुनावलक्षित निर्देशन दिनेछन् । कार्यक्रममा सहभागी भएर तनहुँ महोत्सवको दिउँसो १ बजे उद्घाटनको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
महोत्सवको उद्घाटन लगत्तै प्रधानमन्त्री देउवाले ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्नेछन् । कार्यक्रमलगत्तै उनी राजधानी फर्कने कार्यक्रम तय भएको छ ।
कार्यक्रमलक्षित गरेर कांग्रेसका नेताहरु तनहुँमा सक्रिय छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै जिल्लाका अधिकांश केन्द्रीय सदस्यहरु अहिले तनहुँमै छन् ।