
म्याग्देः म्याग्दे गाउँपालिकाले आव ०७८ ÷ ०७९ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । चैत ८ गते म्याग्देको बेलटारमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सर्वसाधारणले विभिन्न जिज्ञासा राखेका थिए ।
सहभागीहरूले बाटो, खानेपानी तथा बिजुलीका पोल लगायतका बारेमा जिज्ञासा राखे । सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले आफुहरूको पालामा थुप्रै विकास निर्माणका काम भएको बताइन् ।
सबै वर्ग क्षेत्रमा समानता सँगै आवश्यकताका आधारमा बजेट विनियोजन गरेको गापा अध्यक्ष रानाको भनाइ थियो । हामीले विभेद गरेका छैनौं, सबै वडाका जनता हाम्रो लागि बराबर हुनुहुन्छ रानाले भनिन् ।
सहभागीहरूको जिज्ञासाको जवाफ दिँदै म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले गापाको श्रोत र साधनले भ्याएसम्मको सेवा सुविधा गाउँपालिकाले दिँदै आएको बताए ।
सँगसँगै कानुनले दिएको अधिकार भित्र रहेर काम गर्नुपरेकाले जनताले ल्याएका सबै काम चाहेर पनि सबै पूरा हुन नसकेको अधिकारीले बताए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले राज्यले कानुन त बनायो तर कानुनको कार्यान्वयन गर्ने निकाय कुन हो ? भन्दै यसले काम गर्न अफ्ट्यारो पारेको बताए ।
गाउँपालिकाले चालु वर्ष तीन करोड ८५ लाख राजश्व संकलन गरेको उपाध्यक्ष घिमिरेले जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यबिधि जटिल भएकोले त्यसलाई चिरेर सहज बनाइ कार्यक्रम अगाडि बढाउँदै गरेको घिमिरेको प्रस्टोक्ति थियो ।
सुरुमा समग्र म्याग्देको भुगोल मिलाउन र स्थापित गराउन समय लागेको भन्दै घिमिरेले विभेदकारी काम गाउँपालिकाले नगरेको बताए । कार्यक्रममा वडा नँ ६ का अध्यक्ष बसन्त थापा , वडा नँ ७ का अध्यक्ष पद्मराज पौडेल लगायतले बोलेका थिए । सोहि अवसरमा वडा नम्बर ७ का अपांगता भएका व्यक्ति दिपक भण्डारीले कानुनले दिएको अधिकार जति पनि आँफुले सुविधा पाउन नसकेको दुखेसो पोखे ।
तुरतुरे टोल विकास समितिका अध्यक्ष प्रकाश भण्डारीले सबै वडामा समान नजर नभएर होकि किनहो वडा कार्यलय कोहि बनेर सरिसक्यो कोहि निर्माण सम्पन्न भएको छैन, भन्ने जिज्ञासा राखे ।
नेकपा माओवादी केन्द्र म्याग्देका अध्यक्ष बालकृष्ण श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रममा दिन कटौती गरेको बारेमा , प्रदेश सरकारको योजनामा स्थानीय तहले चासो नगरेको बारेमा, सडक पोल, खानेपानीका बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रम सहजकर्ता कुमारकञ्चन जिसिले गरेका थिऐ ।