एनआरएनए : चैत १० र ११ मा एकता महाधिवेशन गर्ने सहमति

  • ख-
  • ख+

काठमाडौं : गैर आवासीय नेपाली संघमा सहमति भएपछि चैत ११ र १२ गते काठमाडौंमा एकता महाधिवेशन हुने भएको छ। अध्यक्ष पदका तीन उम्मेदवार कुल आचार्य, बद्रि केसी र रबिना थापाबीच सहमति भएपछि एनआरएन विभाजन हुनबाट रोकिएको छ ।

अध्यक्ष पदका तीनै जना प्रत्यासीले संघको सचिवालयमा पत्रकार सम्मेलन गरी एकता महाधिवेशनका लागि आफूहरूबीच सहमति भएको बताए । यसअघि देखिएका सबै विवाद समाधान गरी संघलाई एकजुट बनाएर लैजान आफूहरूबीच सहमति भएको उनीहरूको भनाइ छ ।

अध्यक्ष कुमार पन्तले संस्थाको हितका लागि सबैले आ आफ्नो कमजोरी स्वीकार गरेको बताए । पछिल्लो सहमतिले संस्थालाई एकजुट बनाएको उनको भनाइ छ। अध्यक्षका उम्मेदवार एवम् संघका सल्लाहकार कुल आचार्यले संसारभरका नेपालीहरूलाई एकताबद्ध बनाउनुको विकल्प नभएको बताए । पद भन्दा पनि पद्धतिका लागि एकजुट हुनु परेको उनको भनाइ थियो ।

संस्थालाई एकजुट बनाएर अगाडि अहिलेको आवश्यकता रहेको उनले औल्याए । अध्यक्षका उम्मेदवारद्वय केसी र थापाले पनि संस्था जोगाउनु अहिलेको मुख्य आवश्यकता रहेको बताए ।

सहमति अनुसार प्रमुख संरक्षक शेष घलेले आयोजना गरेको महाधिवेशन रोक्न अध्यक्ष पन्तले आग्रह गर्ने छन् भने उच्च अदालत पाटनमा परराष्ट्र मन्त्रालयविरुद्ध दायर मुद्दा पनि पन्तले फिर्ता लिने छन् । त्यसैगरी असन्तुष्ट पक्षका तर्फबाट दायर मुद्दा पनि फिर्ता हुने पन्तले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी