विदेशमा नेपाली ठग्नेलाई इन्टरपोलमार्फत कारबाही गर्ने मन्त्री श्रेष्ठको चेतावनी

  • ख-
  • ख+

आबुधाबीः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विदेशमा बसेर ठगी गर्नेलाई इन्टरपोलमार्फत कारबाही गर्ने चेतावनी दिएका छन् ।

युएई भ्रमणमा रहेका मन्त्री श्रेष्ठले आबुधाबीस्थित नेपाली राजदूतावासमा नेपाली समुदायसँग अन्र्तक्रिया गर्दै यस्तो चेतावनी दिएका हुन् ।

‘नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा युएईबाट नेपाल झिकाउने तयारी गरेका छौं,’ उनले भने ।

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको दावी गर्दै उनले गैरकानुनी काम गर्ने नेपालीहरु विदेशी भूमिमा पनि नजोगिने चेतावनी दिए । नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपाली समुदायबाट सुझाव लिएका थिए ।

नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन सजिलो होस् भनेर आफ्नो भ्रमण टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका डिएसपीलाई पनि सहभागि गराएको उनले बताए ।

कार्यक्रममा मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न आफुले युएई सरकारसँग पनि आग्रह गरेको बताए । अलपत्र परेका नेपालीहरुलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई आममाफी दिने तथा उद्धार गर्नुपर्नेहरुलाई नेपाल फिर्ता गर्न युएई सरकारसँग सहयोगको आग्रह गरिएको बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाली राजदुत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालय तथा दुतावासका कर्मचारी सहित नेपाली संघ(संस्थाका प्रतिनिधि, गैरआवाशीय नेपाली संघका प्रतिनिधि र श्रमिकहरुको सहभागिता थियो ।कार्यक्रमका सहभागिहरुले नेपाली श्रमिकहरुले युएईमा भोगेको समस्याबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्