
विकास खनाल
दमौली: जबर्जस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी तनहुँबाट पक्राउ परेका छन् ।
शाहका म्यानेजर भनिएका जोशीलाई तनुहँकाे दमाैलीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । जवरजस्ति करणी मुद्दामा जोडिएको घटनामा मतियारको भूमिका खेलेको बताउँदै प्रहरीले उनलाई पक्राउ गरेको खड्काले बताए ।
जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा गायिका समिक्षा अधिकारीले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी फरार भएका थिए ।
पछि २७ फागुनमा उनले प्रहरीकहाँ आत्मसमर्पण गरेका थिए ।
जबरजस्ती करणीको मुद्दा खेपिरहेका शाहलाई पूर्वी नवलपरासीमा पनि जाहेरी परेकाेले अहिले उनि नवलपुर प्रहरी हिरासतमा छन् ।
अहिले नवलपरासी प्रहरी र सरकारी वकिल कार्यालयले बयान लिइरहेकाे छ । मंगलबार उनलाई तनहुँबाट पूर्वी नवलपरासीमा उपस्थित गराइएको थियाे ।
तनहुँ जिल्ला अदालतले दोस्रोपटक थप १२ दिन हिरासतमा राख्न अनुमती दिएकोले पूर्वी नवलपरासीमा हिरासतमा राख्न म्याद लिनुनपरेकाे प्रहरीले बताएको छ ।
बयान र त्यहाँ दर्ता भएको जाहेरीबारे अनुसन्धान सकेर उनलाई तनहुँ पठाइने एक प्रहरी अधिकारीले जानकारी दिए । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) प्रहरीको हिरासतमा छन् ।